काठमाडौं, २४ फागुन । अर्थमन्त्री वर्षामान पुनले अहिले भएको राजश्वको बृद्धिदरलाई दोब्बर पार्न सकिने बताउनुभएको छ ।
बुधबार शपथ ग्रहण लगत्तै अर्थमन्त्रीका रुपमा पदबहाली गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
अर्थमन्त्री पुनले पुनले भन्नुभयो ‘राजश्व संकलन १० प्रतिशतको वृद्धि छ । अर्को महिना देखि दोब्बर वृद्धि गर्न सकिने आधारहरु छन् । मैले बोलेर भन्दा पनि काम गरेर देखाउन चाहन्छु । अर्थ मन्त्रालयको टिमलाई लिएर अभ्यास गर्दा सकिन्छ । अरुलाई आलोचना गरेर भन्दा पनि आफूले राम्रो गरेर काम गर्ने हो । विगतका अर्थमन्त्रीहरुले गरेको असल प्रयासलाई निरन्तरता दिँदै अनुभवलाई लिएर काम अगाडी बढाउँछु ।’
उहाँले सर्वसाधरण र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री पुनका अनुसार मुलुकको वर्तमान अर्थतन्त्र संकटमा नभएर मन्दीमा रहेको छ ।
अर्थतन्त्रमा रहेका चुनौतीहरुलाई सबै भन्दा पहिला सबै अन्तरमन्त्रालयसँग समन्वय गरेर समाधान गरिने छ । प्रधानमन्त्रीले सुशासन र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्नुभएकोले त्यसलाई टेवा पुग्ने गरी मन्त्रालयले प्राथमिकता निर्धारण गरेर काम गर्ने उहाँले बताउनुभयो ।
मन्त्री पुनले सन् २००८मा विश्व व्यापी आर्थिक संकट लगतै २०११मा अर्थमन्त्रीको जिम्मेवारीमा सम्हालदा पनि त्यो बेलाको संकट समाधान गरेको भन्दै अहिलको समस्याप्रति समाधान गर्नसक्ने अवस्थामा रहेको बताउनु भएको छ ।
उहाँले अहिले राजस्व संकलन १० प्रतिशतको वृद्धि भएको भन्दै अब अर्को महिना देखि दोब्बर वृद्धि गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नवनियुक्त अर्थमन्त्री पुनले आम नागरिक,उद्योगी,व्यवसायीहरुलाई अर्थतन्त्रको शिथिलता र समस्याहरु समाधान गर्ने विश्वास दिलाउनुभएको छ । उहाँले राजस्व पनि बढाउने र खर्च पनि बढाउनुपर्ने बताउनुभएको छ ।


















