काठमाडौं, २४ फागुन(बीबीसी) । कांग्रेससँगको सत्ता साझेदारी अन्त्य गरेको केही दिनभित्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को मञ्च प्रयोग गरेर पूर्व सत्ता साझेदार दलको कडा शब्दमा आलोचना गर्नुभएको छ।
उहाँले प्रतिनिधिसभाको बैठकमा बोल्दै सत्ता गठबन्धन फेरिनुमा मुख्य दोष कांग्रेसको रहेको बताउनुभयो।
बिहीवारै बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले माओवादीलाई बेइमान भनेको कुरालाई उल्लेख गर्दै आफूले राजनीतिक प्रतिबद्धता पूरा गर्न गठबन्धन फेरेको दाबी प्रधानमन्त्री दाहालले गर्नुभयो ।
उहाँले गठबन्धन टुट्नुमा नेपाली कांग्रेसप्रति दोष लगाएपछि बोल्नुभएका नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले चाहिँ उहाँका आरोपहरू सही नभएको जबाफ दिनुभएको थियो।
प्रधानमन्त्रीको भनाई
आफ्नो सम्बोधनको सुरुमा प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसद्हरूले उठाएका प्रश्नहरूको उत्तर दिनुभएको थियो।
त्यसपछि उनले पछिल्लो सत्ता-समीकरणबारे केही कुरा राख्छु भन्दै बोल्न सुरु गरेर उहाँले कांग्रेसप्रति कटाक्ष गर्नुभयो।
उहाँले प्रधानमन्त्रीका रूपमा आफूलाई टिक्न कांग्रेसबाट कुनै बाधा थिएन भन्ने धारणा राख्नुभयो।
यद्यपि त्यसप्रति आफ्नो असहमति जनाउँदै उहाँले भन्नुभयो, “टिकिरहनु मात्रैलाई स्थायित्व मान्ने हो भने त्यो स्थायित्वको समस्या पनि थिएन तर राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा राजनीतिक परिणामहरू निर्णायक हुँदा रहेछन्। अघिल्लो गठबन्धनमा पनि त्यही भयो।”
उहाँले निर्वाचनअघि नै बनेको गठबन्धनमा माओवादीले सघाए जसरी कांग्रेसले माओवादीलाई नसघाएको गुनासो गर्नुभयो।
“निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले जुन तहमा कांग्रेसलाई सघायो, त्यही तहमा आफूले सहयोग पाएन। त्यसले आपसी विश्वास कमजोर बनाएकै थियो, निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट पनि नेतृत्व पछि हट्यो।”
“एउटा परिस्थतिमा फेरि जोडिएपछि पछि कोशी प्रदेशमा त कांग्रेसको एउटा समूहले विद्रोह नै गर्यो। गठबन्धनको नैतिकताको कसीमा त्यो विद्रोह दण्डित हुनुपर्ने थियो तर भयो पुरस्कृत। राष्ट्रियसभा निर्वाचनमा त्यो समूहले माओवादी उम्मेदवारलाई अन्तरघातबाट पराजित नै गर्यो।”
उहाँले हालै सम्पन्न कांग्रेस महासमिति बैठकमा गठबन्धनको निन्दा गरिएको तथा माओवादी सशस्त्र द्वन्द्वलाई दानवीकरण गरिएको भन्दै त्यसले गठबन्धन टुटाउन भूमिका खेलेको दाबी गर्नुभयो।
उहाँले भन्नुभयो, “महासमितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्र होइन, दानवीकरण नै गरियो र २०४७ सालकै संविधान ठीक भएको आशयको प्रतिवेदन वितरण गरियो। यसरी हामीबीच हिजो मिलिसकेका सैद्धान्तिक र वैचारिक विषयमा समेत शङ्का र अविश्वासको वातावरण बन्यो।”
प्रचण्डले सरकारका रूपमा उल्लेखनीय उपलब्धि हासिल गरेको तर त्यसलाई गठबन्धनकै कारण तीव्र बनाउन नसकेको बताउनुभयो।
उहाँले आफूले संसद्मै प्रधानमन्त्रीको नाम लेखाउन र सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्र नभएको बताएको स्मरण गर्दै आफूलाई सरकार चलाउन चाहिने सहयोग नपाएको बताउनुभयो।
उहाँले भन्नुभयो, “एक वर्ष कार्यकाल पूरा भएपछिको सम्बोधनमा त मैले कार्यक्षमता प्रमाणित नभए वा देशमा सकारात्मक परिवर्तन ल्याउन र आशा जगाउन नसके पद ओगटिनरहने घोषणा नै गरेको थिएँ।”
“मेरो यो तहको प्रतिबद्धता गठबन्धनका केही घटकबाट मैले अपेक्षित साथ पाइनँ। म सङ्केतमा केवल यत्ति भन्छु( साथीहरूले व्यक्तिका रूपमा त मलाई माया गर्नुभयो तर परिवर्तन, सुशासन र समृद्धिको तीव्र आकाङ्क्षा बोकेको प्रधानमन्त्रीका रूपमा मलाई न्याय गर्नु भएन।”
उहाँले अहिले पनि आफू सरकारको गतिसँग सन्तुष्ट नभएको दोहोर्याउनुभयो। त्यसैलाई पूरा गर्न आफूले नयाँ गठबन्धन गरेको उहाँको दाबी छ।
प्रधानमन्त्री दाहालले भन्नुभयो , “मसँग दुई विकल्प थिए( औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भए पनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने ?”
“मैले दोस्रो विकल्प रोजेँ। त्यो कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन्।”
उहाँले आफ्नो कदम कसैलाई अस्थिर लाग्न सक्ने र कसैलाई गतिशील पनि लाग्न सक्ने बताउँदै भन्नुभयो, “आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्न प्रतिबद्ध छु।”
उहाँले नेपाली कांग्रेसले बेइमानी गरेको आरोप लगाएकोबारे जवाफ दिँदै आफूले राजनीतिक प्रतिबद्धता अनुसार काम गर्नका लागि गठबन्धन फेरेको दाबी गर्नुभयो।
कांग्रेसको प्रत्युत्तर
प्रधानमन्त्री दाहाल बोलेपछि मन्तव्य राखेका नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले चाहिँ प्रधानमन्त्रीले आफ्नै असक्षमता र अकर्मण्यताका लागि अरूलाई दोष लगाएको बताउनुभयो।
उहाँले चुनाव अघि नै बनेको गठबन्धन टुटाउनु भनेको कांग्रेसका लागि मात्र बेइमानी नभएको बताउनुभयो।
लेखकले भन्नुभयो, “यो जनमतको पनि घोर अपमान हो। आफ्नो जिम्मेवारीबाट भाग्ने काम हो। यो राजनीतिक बेइमानी हो।”
आफूले काम गर्न नसकेर मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डले दोष दिएको आरोप पनि उहाँले लगाउनुभयो।
उहाँले संविधान कार्यान्वयन तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयहरू टुङ्ग्याउन कांग्रेसले सहयोग नगरेको भन्ने आरोप प्रधानमन्त्रीले लगाएको भन्दै त्यो आरोप सही नभएको बताउनुभयो।
उहाँले प्रधानमन्त्रीले अस्थिरता निम्त्याएको भन्दै यसै प्रकारले चलिरहे १३ पटक गठबन्धन फेरिन सक्ने बताउनुभयो।
प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन टुटेकै दिन आफू जीवित रहँदासम्म देशमा उथलपुथल भइरहने बताउनुभएको थियो।
त्यसको जवाफ दिँदै लेखकले भन्नुभयो, “एक जनासँग मगनी, अर्कोसँग लगनगाँठो, तेस्रोसँग हनिमुन, चौथोसँग डेटिङ, पाँचौसँग टाप ठोक्ने काम उथलपुथल होइन। त्यो शोभनीय होइन। त्यो पनि बाह्ररबाह्र पटक गर्नु शोभनीय हुन्छ?”
उहाँले नेपाली कांग्रेसको महासमितिको बैठकमा उठेका विषयहरू पार्टीका आन्तरिक मामिला भएकाले प्रधानमन्त्रीले त्यसमा प्रवेश गर्नु उचित नहुने पनि लेखकले बताउनुभयो।


















