रुसी सेनामा भर्ना भएर लडाईमा मृत्यु भएका नेपालीको परिवारलाई ७२ लाख रुपैया क्षतिपूर्ति दिन रुस तयार !
काठमाडौं, २६ फागुन । रुसी सेनामा भर्ना भएर लडाईको मैदानमा मृत्यु भएका व्यक्तिहरूको परिवारलाई रुसले ५० लाख रुबेल अर्थात करिब ७२ लाख नेपाली रुपैया क्षतिपूर्ति दिने भएको छ।
बिहिबार नवनियुक्त उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र रुसका विदेश मन्त्री सर्गेइ लाग्रोभबीच वार्ता भएपछि रुसले क्षतिपूर्ति दिने विषय र रकमको जानकारी बाहिरिएको हो ।
रुसको सेनामा भर्ना भएर लडाईमा मृत्यु हुने व्यक्तिका परिवारलाई क्षतिपूर्तिस्वरूप ५० लाख रुबल अर्थात् करिब ७२ लाख नेपाली रुपैयाँ दिन तयार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
रुसको कानुनमा युद्धमा मृत्यु भएका सैनिकका परिवारलाई ५० लाख रुबल क्षतिपूर्तिस्वरूप दिने विषय रहेको बताइएको छ।
क्षतिपूर्ति रकम रुसस्थित नेपाली दूतावासमार्फत् नेपालमा रहेका परिवारका सदस्यलाई दिलाउन रुस तयार भएको पनि बताइएको छ।
मृत्युभएका व्यक्तिका परिवारलाई रुसले नै खबर पठाउने गरेको छ।
टेलिफोन वार्तामा नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा ज्यान गुमाएका नेपालीहरूको शव स्वदेश फर्काउन र पीडितका परिवारलाई क्षतिपूर्ति अविलम्ब उपलब्ध गराउन रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभलाई अनुरोध गर्नुभएको थियो ।
उक्त विज्ञप्तिमा उपप्रधानमन्त्री श्रेष्ठले रुसी विदेशमन्त्रीलाई मृतकको शव फिर्ता गर्न र परिवारका सदस्यलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपालीको घर फिर्तीको सहजीकरण गरिदिन अनुरोध गर्नुभएको थियो।
रुसले पनि टेलिफोन कुराकानी भएको पुष्टि गरेको छ तर उसले दुई जनाबीच समसामयिक विषयवस्तु र सम्भावित सहकार्यको सम्भावनाबारे छलफलको आदानप्रदान भएको मात्र जनाएको छ।
‘
परराष्ट्र मन्त्रालयको विज्ञप्ति
परराष्ट्र मन्त्रालयका अनुसार श्रेष्ठले क्षतिपूर्ति दिने प्रक्रिया थालेकोमा रुसलाई धन्यवाद दिँदै त्यो प्रक्रिया चाँडो सम्पन्न गर्न अनुरोध गर्नुभएको थियो।
रुसी मन्त्रीले नेपाली पक्षको सरोकार सम्बोधन गर्न आफ्नो मन्त्रालयको सहयोग हुने बताएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।
रुसको विदेश मन्त्रालयले भने उसको विज्ञप्तिमा रुसी सेनामा रहेका नेपालीबारे कुनै चर्चा गरेको छैन।
केही महिनाअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयले रुसी सेनामा विदेशी नागरिकले सेवा गर्न नपाउने भन्दै नेपालले उठाएका घरफिर्तीसहितका मागबारे आफूलाई जानकारी नरहेको बीबीसी नेपालीलाई जबाफ दिएको थियो।
रुसी सेनामा भर्ना भएका नेपाली कैयौँले ज्यान गुमाएका, कैयौँ बेपत्ता भएका र कैयौँ युद्धको अग्र मोर्चामा रहेका खबर सार्वजनिक हुँदै आएका छन्।
परराष्ट्र मन्त्रालयसँग हालसम्म १२ जनाको मृत्यु भएको औपचारिक तथ्याङ्क छ।
तर त्यसको दोबर सङ्ख्यामा ज्यान गइसकेको भन्ने तथ्याङ्क पनि नेपाल सरकारको जानकारीमा रहेको बुझिएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूमा हजारौँको सङ्ख्यामा नेपालीहरू रुसी सेनामा भर्ना भएको भन्ने समाचार आएका छन्।
रुसी सेनामा भर्ना भएर फर्कन सफल भएकाले पनि सङ्ख्या ठूलो रहेको बताउने गरेका छन्।
तर नेपाल सरकारले रुसी सरकारसँग यकिन सङ्ख्या माग्दा रुसी कानुन अनुसार रुसी सेनाको सङ्ख्या खुलाउन नमिल्ने जबाफ पाएको पूर्व परराष्ट्रमन्त्री एनपी साउदले बताउनुभएको थियो।
रुस युक्रेन युद्धमा रुसी सेनाको तर्फबाट लड्न गएका ६ जना नेपाली युक्रेन सरकारको नियन्त्रणमा रहेको औपचारिक तथ्याङ्क नेपाल सरकारसँग छ।(बीबीसीबाट)


















