Prakash Adhikari March 9, 2024
काठमाडौँ, २६ फागुन : क्याप्टेन वेद उप्रेतीद्वारा लिखित ‘दुर्गम विस्मयलोक/भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ पुस्तक लोकार्पण गरिएको छ ।
वेद उप्रेती ट्रष्टद्वारा आज यहाँ आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहदुर देउवासहित विशिष्ट व्यक्तित्वहरुद्धारा  उक्त पुस्तकको लोकार्पण गरिएको हो । पुस्तकमा सुदूरपश्चिमलाई समृद्ध र प्रगतिशील क्षेत्रका रूपमा विकास गर्न सकिन्छ भन्ने विश्वासलाई चित्रात्मक ढङ्गले विवरण प्रस्तुत गरिएको छ ।
देउवाले सुदूरपश्चिमलाई थप सुन्दर बनाउन सकिने सम्भावनासहित लेखकले प्राकृतिक तथा सांस्कृतिक अनुपमतालाई उजार गर्नु समग्र मुलुकका लागि गौरवको विषय रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले हवाई सर्वेक्षणबाट गरिएका मुलुकका अनुपम सौन्दर्यतालाई विकासका सम्भावनाका रूपमा उल्लेख गरिएको उल्लेख गर्दै योजनाकार, नीति निर्माणकर्ताका लागि पुस्तक ठूलो मार्गदर्शन रहने धारणा राख्नुभयो ।
कांग्रेस नेता नारायणप्रकाश साउदले लेखक उप्रेतीले योजनाबद्ध ढङ्गले सुदूरपश्चिमका प्राकृतिक सुन्दरतालाई भोलिका दिनमा कसरी विकास गर्न सक्छौँ भनी फोटोका माध्यमबाट प्रतिविम्बित गरिएको उल्लेख गर्दै यस क्षेत्रका सम्भावनालाई राष्ट्रियका साथै अन्तराष्ट्रियकरण गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद प्रेमबहादुर आलेले नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्त्वपूर्ण स्रोतका रूपमा लेखक उप्रेतीको पुस्तक रहेको बताउनुभयो ।
लेखक उप्रेतीले सुदूरपश्चिम क्षेत्र भौगोलिकरूपमा विकट भए पनि आफैँमा भव्य रहेको उल्लेख गर्दै १० वर्षको अवधिमा सुदूरपश्चिमका नौवटै जिल्लाका विकासका सम्भावना साथै प्राकृतिक, धार्मिक र ऐतिहासिक सौन्दर्यतालाई तस्वीरमा समेटेको बताउनुभयो । उहाँले अल्पकालीन र दीर्घकालीन तथा ठोस योजना बनाई पर्यटन, रोजगारी र औद्योगिकीकरणको विकास गर्न सकिने विषयलाई पुस्तकमा चित्रात्मकरूपमा वर्णन गरिएको बताउनुभयो ।
पुस्तक बिक्रीबाट सङ्कलित रकमलाई क्यान्सर लागेका बिरामीलाई सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।
पुस्तक समीक्षक कुन्दा दीक्षितले नेपाल र नेपालीलाई चिनाउन लेखकले प्रकाशित गरेका पुस्तक सान्दर्भिक रहेका बताउनुभयो । उहाँले देशको संस्कृति, भूगोल तथा युवालाई मुलुकप्रतिको आकर्षण एवं समग्र समृद्ध मुलुक बनाउन विगतका पुस्तकभन्दा यो अझै सान्दर्भिक रहेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दिव्यश्वरी जोशीले सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका इतिहास र पर्यटकीय क्षेत्रका फोटोग्राफीका विवरणलाई प्रमाणसहित विवेचना गरिएको बताउनुभयो ।
वास्तविक परिदृश्यलाई थप सुन्दर र विकास गर्न परिकल्पना गरिएका दृश्य समावेश गरेर तयार पारिएको यस पुस्तकमा एक सय २० पेजमा ९४ रङ्गिन फोटो रहेका छन् । नेपाली र अङ्ग्रेजी दुवै भाषामा विषयवस्तुको वर्णन गरिएको यस पुस्तक उक्त क्षेत्रका अनुसन्धानकर्ता, पर्यटक, राजनीतिक तथा योजनाकारलगायतलाई उपयोगी छ ।
Share Now