Prakash Adhikari March 11, 2024
काठमाडौँ, २७ फागुन : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले साउदी अरबका लगानीकर्ताहरुलाई नेपालमा लगानी बढाउन तथा लगानी साझेदारीका लागि आह्वान गर्नुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, लगानी बोर्ड नेपाल, साउदी अरबको लगानी मन्त्रालय, साउदी चेम्बर र यहाँस्थित साउदी अरब राजदूतावासले संयुक्त रूपमा आज आयोजना गरेको लगानी वेबिनारमा अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन साउदी लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको हो ।
लगानी सम्मेलनको सन्दर्भ जोड्दै अध्यक्ष ढकालले नेपालमा लगानीकर्ताहरुलाई सहज वातावरण बनाउन नेपाल सरकारले नीजि क्षेत्रलेसँग मिलेर काम गरिरहेकाले बाह्य लगानीकर्ताहरूका  लागि नेपालमा लगानी बढाउन उपयुक्त समय आएको बताउनुभयो ।
नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि र व्यावसायिक कृषिमा थप लगानीका सम्भावनाहरू सृजना भएकाले लगानीकर्ताहरूका लागि थप अवसरहरू सृजना भएकोतर्फ अध्यक्ष ढकालले साउदी लगानीकर्ताहरूको ध्यानाकर्षण गराउनु भयो ।
नेपाल सरकारले आगामी १० वर्षमा २५ हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । जलविद्युत् उत्पादनको लक्ष्य हासिल गर्न वैदेशिक लगानी आवश्यक पर्ने भएकाले जलविद्युत्मा क्षेत्रमा संयुक्त लगानी परियोजना विकास गर्न साझेदारीका लागि समेत अध्यक्ष ढकालले आग्रह गर्नुभयो ।
पर्यटन क्षेत्रमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको आफ्नै मौलिक विशेषताहरु भएकाले होटेल रिसोर्ट तथा केबलकार परियोजनाहरूमा आफूले लगानी बढाएको उदाहरण दिँदै अध्यक्ष ढकालले बाह्य लगानीकर्ताहरूका लागि पर्यटन बजार पनि आकर्षण रहेको बताउनुभयो ।
सूचना प्रविधि र व्यावसायिक कृर्षिमा बढ्दो बजार मागले पनि लगानीकर्ताहरुलाई थप अवसरहरु सृजना गरी रहेकोले यसतर्फ ध्यान पु¥याउन उहाँले आग्रह गर्नुभयो ।
बाह्य लगानीलाई सहज बनाउन महासङ्घले लगानी र व्यापार नीतिको मस्यौदामा सरकारसँग नजिक रहेर काम गरिरहेकाले नीतिगत समस्याहरूमा अप्ठ्यारो महसुस नगर्न उहाँले साउदीका लगानीकर्ताहरुलाई आश्वस्त पार्नुभयो ।
महासङ्घले वैदेशिक लगानी सहायता कक्षमार्फत लगानीकर्ताहरूलाई सेवाहरू प्रदान गरिरहेको जानकारी गराउँदै अध्यक्ष ढकालले यसले लगानीकर्ताहरुलाई थप सहज बनाएको बताउनुभयो ।
आगामी वैशाखमा हुने नेपाल लगानी सम्मेलनमा लगानीका प्रतिबद्धतासहित सहभागी हुन उहाँले साउदीका लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो ।
लगानी वेबिनारमा लगानी बोर्डका प्रमुख कार्यकारी सहित साउदी अरबको लगानी मन्त्रालय, साउदी चेम्बर र नेपाल स्थित साउदी अरब राजदूत सहित साउदी अरब तथा नेपालका लगानीकर्ताहरूको सहभागिता रहेको थियो ।
Share Now