काठमाडौँ, २८ फागुन । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना दिनुभएको छ ।
शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भन्नुभएको छ, नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो । ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्दछु ।
ग्याल्पो ल्होसार पर्वले हामी सबै नेपालीबीचको एकतालाई अझ सदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपतिले गर्नुभएको छ ।
पारस्परिक सद्भाव अभिबृद्धि हुने
उपराष्ट्रपति रामसहायप्रसाद यादवले शेर्पा समुदायको पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसार–२१५१ले नेपालीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
ग्याल्पो ल्होसारको उपलक्ष्यमा देश र विदेशमा रहनुभएका शेर्पा समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उहाँले राष्ट्रिय एकतालाई थप बलियो, सुदृढ बनाउनुका साथै मुलुकमा बहुभाषा र बहुसंस्कृतिलाई जीवन्त बनाउन सहयोग गर्ने बताउनुभएको छ ।
ग्याल्पो ल्होसारका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले खुसियाली साट्ने यो पर्वको अर्को महत्वपूर्ण विशेषता भनेको सामूहिक रुपमा एकअर्काको हात समाएर सुखदुःखको गीत गाउँदै स्याब्रु नृत्य गर्नु र मौलिक–परम्परागत पहिरन लगाउनुले शेर्पा समुदाय आफ्नो संस्कृति जोगाउन सचेत रहेको सन्देश अन्य समुदाय, सम्प्रदाय, धर्मावलम्बीलाई पनि दिएको उल्लेख गर्नुभएको छ ।
नेपालको हिमालीसहित विभिन्न क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ ।
ल्होसार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।


















