काठमाडौँ, २८ फागुनः राष्ट्रियसभाको अध्यक्ष पदका लागि सत्तागठबन्धन र विपक्षी दलका तर्फबाट आज उम्मेदवारी दर्ता भएको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
दाहालको प्रस्तावकमा सोही पार्टीका सांसद गोपीबहादुर अछामी र समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद रहनुभएको छ ।
उम्मेदवार शर्माको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंह रहनुभएको छ । यही फागुन २९ गते हुने सो निर्वाचनका लागि आज दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम निर्धारण गरिएको छ ।
तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल यही फागुन २० गते सकिएको थियो ।
संसदीय प्रणालीको गरिमा बढाउन कार्य सम्पादन गर्छु : सांसद शर्मा
नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफ्नो लामो राजनीतिक यात्रा र भूमिकाका कारण पार्टीले एक ढिक्काका साथ अध्यक्ष पदका लागि उम्मेदवार बनाएको बताउनुभयो ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीको जिज्ञाशामा उहाँले आफू प्रतिस्पर्धीभन्दा राजनीतिक र शैक्षिक योग्यताका हिसाबले अब्बल रहेको दाबी गर्नुभयो । उहाँले आफू अध्यक्षमा निर्वाचित भएमा संसदीय प्रणाली र पदको गरिमा बढाउने ढङ्गबाट कार्यसम्पादन गर्ने बताउनुभयो ।
उम्मेदवार शर्माले भन्नुभयो, “लोकतन्त्रमा कसैको जित वा हार हुँदैन । सबै जित्छन्, सबै हार्छन् । निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो, पार्टीले आफ्नो उम्मेदवारीको निर्णय पहिलो पटक गरेकाले अर्को को उम्मेदवार भन्ने प्रश्न हुँदैन ।”
उहाँले आफू मुलुकमा प्रजातन्त्र स्थापनाको आन्दोलनका क्रममा २०२४ सालमा जेल परेको, २०२७ सालमा नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य रहेको, २०२५ सालमा बिपी कोइरालासँग प्रशिक्षण लिएको, कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा नेविसङ्घको सभापति हुँदा उपसभापतिको जिम्मेवारीमा रहेको बताउनुभयो । विसं २०३३ मा जिल्ला समिति सदस्य, २०४५ सालमा बाँके जिल्लाको पार्टी सभापति, लोकतन्त्रका लागि भएको सबै आन्दोलनमा नेतृत्वदायी भूमिका रहेको जानकारी दिनुभयो ।
पाँच दशक लामो राजनीतिक यात्रापछि राष्ट्रियसभामा दुई वर्षअघि प्रवेश गरेको र त्यस अनुभवका आधारमा पार्टीले अध्यक्षका उम्मेदवार बनाएको प्रतिक्रिया दिनुभयो ।
पार्टीमा दिएको योगादनस्वरुप अध्यक्षको उम्मेदवार बनेको हुँ: सांसद दाहाल
सत्ता गठबन्धनका तर्फबाट राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद नारायण दाहालले पार्टीमा आफूले दिएको योगदान र जिम्मेवारीका आधारमा उम्मेदवारी दिएको बताउनुभएको छ ।
अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो, “सामान्यतः प्रदेशको सह–इञ्चार्जको जिम्मेवारीमा जाँदासमेत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारसँग जोडेर हेर्ने गरिन्थ्यो, यो आरोप पहिलो पटक होइन ।”
आफू विसं २०३६ देखि राजनीतिक गतिविधिमा लागेकामा त्यो योगदानबारे थाहै नपाएका पक्षले आफूमाथि आरोप लगाएको जनाउँदै उहाँले भूमिका नै नबुझी यसरी बारम्बार प्रश्न गर्दा कति न्याय होला भनी प्रश्न गर्नुभयो ।
“त्यसबेला यदि दाजुभाइको नाता लगाउनेले युद्धमा हिँड्दा दाइ हिँडेको छ, परिवारका सबै किन हिँड्नु प¥यो भनी किन प्रश्न नगरेको ?”, उम्मेदवार दाहालले प्रश्न गर्नुभयो । त्यसबेला युद्धमा नलाग्दा आफ्नो परिवार बचाउन लाग्यो भन्ने नेतृत्वलाई लाञ्छना लाग्ने गरेको उहाँले सुनाउनुभयो ।
“मैले आफ्नो योगदानअनुसारको जिम्मेवारी पाउन लागेको छु, सिङ्गो पार्टी पङ्क्तिले एकमतका साथ मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ, यसलाई अन्यथा लिन मिल्दैन”, दाहालले भन्नुभयो ।