Prakash Adhikari March 12, 2024

काठमाडौँ, २९ फागुनः आज संघीय संसदको राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन हुँदैछ ।

राष्ट्रियसभाको अध्यक्ष पदका लागि सत्तागठबन्धन र विपक्षी दलका तर्फबाट आज उम्मेदवारी दर्ता भएको छ । नयाँ सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

दाहालको प्रस्तावकमा सोही पार्टीका सांसद गोपीबहादुर अछामी र समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद रहनुभएको छ ।

उम्मेदवार शर्माको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंह रहनुभएको छ ।

राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल यही फागुन २० गते सकिएको थियो ।

नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले राष्ट्रिय सभा र अध्यक्ष पदको गरिमा अभिबृद्धि गर्न आफूले पार्टीका तर्फबाट उम्मेद्वारी दिएको बताउनुभएको छ ।

उहाँले आफू मुलुकमा प्रजातन्त्र स्थापनाको आन्दोलनका क्रममा २०२४ सालमा जेल परेको, २०२७ सालमा नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य रहेको, २०२५ सालमा बिपी कोइरालासँग प्रशिक्षण लिएको, कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा नेविसङ्घको सभापति हुँदा उपसभापतिको जिम्मेवारीमा रहेको बताउनुभयो । विसं २०३३ मा जिल्ला समिति सदस्य, २०४५ सालमा बाँके जिल्लाको पार्टी सभापति, लोकतन्त्रका लागि भएको सबै आन्दोलनमा नेतृत्वदायी भूमिका रहेको जानकारी दिनुभयो ।

पाँच दशक लामो राजनीतिक यात्रापछि राष्ट्रियसभामा दुई वर्षअघि प्रवेश गरेको र त्यस अनुभवका आधारमा पार्टीले अध्यक्षका उम्मेदवार बनाएको प्रतिक्रिया दिनुभएको छ ।

यता सत्ता गठबन्धनका तर्फबाट राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद नारायण दाहालले पार्टीमा आफूले दिएको योगदान र जिम्मेवारीका आधारमा उम्मेदवारी दिएको बताउनुभएको छ ।

उहाँलाई प्रधानमन्त्री पुष्पकमल दाहालको भाई भएको र लोकतान्त्रिक गणतन्त्रमा प्रधानमन्त्री दाहालले राणा शासनमा जस्तो जहानिया शासन चलाउन खोजेको आरोप लागेको छ । नेकपा माओवादी केन्द्रबाटै राष्ट्रिय सभामा उपाध्यक्ष रहनुभएकी उर्मिला अर्याललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा उम्मेदवार बनाउने संभावना हुँदाहुँदै नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई किन राष्ट्रिय सभाको अध्यक्षमा उम्मेद्वार बनायो भन्ने पार्टीभित्र र बाहिर ठूलो प्रश्नको विषय बनेको छ।

यस सम्बन्धमा उपाध्यक्ष अर्यालले सगरमाथा टिभीमा दिनुभएको अन्तरवार्ता भाइरल भैरहेको छ। सत्ता गठबन्धनको अन्तरविरोधले गतबर्ष राष्ट्रपति निर्वाचनमा देखिए जस्तो परिणाम ल्याउने पनि संभावना छ । माओवादी भित्रैबाट परिवारको विरोध भइरहेको बेला के सत्ता गठबन्धनका अन्य दलहरु एक दुई थान मन्त्री खान देशमा जहाँनिया शासन स्थापित गरेको अपजशको भारी बोक्न तयार छन् त ?

https://twitter.com/i/status/1767168322528002278

Share Now