Prakash Adhikari March 13, 2024

काठमाडौं, ३० फागुन । नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी लिन १९ जनाले चासो देखाएका छन् । अर्थ मन्त्रालय वित्त व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार सो पदका लागि आज फागुन ३० गते ५ बजेको अन्तिम समयरेखाभित्र १९ जनाको निवेदन परेको छ ।

धितोपत्र बोर्ड हाँक्न चिरञ्जीवी चापागाईँ, कृष्णराज पोखरेल, सन्तोषनारायण श्रेष्ठ, डा. नवराज अधिकारी, डा.गोपालप्रसाद भट्ट, नीरज गिरी, डा.केशवप्रसाद श्रेष्ठ, कृष्णबहादुर अधिकारी, डा. रघुराज काफ्ले, मुक्तिनाथ श्रेष्ठ, प्रविन पन्दाक, सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा.बीमल कुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्णबहादुर कार्कीले निवेदन दिनुभएको छ।

धितोपत्र बोर्डका तात्कालीन अध्यक्ष रमेशकुमार हमालको पदावधि पुस २० गते समाप्त भएदेखि सो पद रिक्त रहदै आएको छ ।

अर्थ मन्त्रालयले बोर्डको अध्यक्ष चयनको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरी त्यसले कार्यविधि निर्माण गरेपछि फागुन १६ गते दरखास्त आह्वान गरिएको थियो।

१५ दिनको म्याद राखेर आह्वान गरिएकको अध्यक्ष पदका लागि इच्छुक नेपाली नागरिकलाई फागुन ३० गतेभित्र आवेदन दिन आग्रह गरिएको थियो । अध्यक्ष पदका लागि निवेदन दिने समय बुधवार साँझ पाँच बजेपछि सकिएको छ।

निवेदकहरुलाई निवेदनका साथ व्यक्तिगत विवरण(योग्यता,अनुभव) र व्यवसायिक योजना पनि बुझाउन भनिएको थियो । छनोट समितिले व्यक्तिगत विवरण र व्यवसायिक योजनाको मूल्यांकन गरी उत्कृष्ट पाँच जनाको संक्षिप्त सूची सार्वजनिक गर्ने बताइएको छ ।

छनोट समितिले संक्षिप्त सूचीमा रहेका ५ जनालाई प्रत्यक्ष प्रस्तुति र अन्तरवार्ताको माध्यमबाट परीक्षा लिई उत्कृष्ट तीन जनाको नाम अर्थमन्त्री समक्ष पेश गर्ने छ । अर्थमन्त्रीले तीन व्यक्ति मध्ये उत्कृष्टताको आधारमा बर्णानुक्रम अनुसार कुनै एक जनालाई चयन गर्न क्याबिनेटमा प्रस्ताव लैजाने र क्याबिनेटले कुनै एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ ।

 

Share Now