महेन्द्रनगर (कञ्चनपुर), २ चैत : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने लक्ष्य ‘मिसन ८४’ को रहेको बताउनुभएको छ ।
एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनलाई बिहीबार महेन्द्रनगरमा सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचन र यसको परिणामले कस्को शक्ति कस्तो छ भन्ने कुरा स्पष्ट पार्ने बताउनुभयो । “ हामी नेपालको राष्ट्रिय शक्तिलाई निर्णायक रुपमा सुदृढ र बलियो बनाउन चाहन्छौँ”, अध्यक्ष ओलीले भन्नुभयो, “यसको मापन निर्वाचन परिणामबाट हुन्छ यसै कारण हामीले मिसन ८४ भनेका छौँ ।”
उहाँले वर्तमान संयुक्त सरकारले लिएको नीतिले मुलुकमा समृद्धि हासिल हुने बताउनुभयो । उहाँले भन्नुभयो, “मेची–महाकालीबाट गएका मिटरब्याज पीडितसित सरकारले सहमति गरेको छ, र समस्या समाधानको सुरुआत सरकारले गरेको छ ।”
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कञ्चनपुरमा नागरिक अभिनन्दन गरिएको छ ।
एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न महेन्द्रनगर आउनुभएका अध्यक्ष ओलीलाई १ चैतमा कञ्चनपुर उद्योग वाणिज्य सङ्घले नागरिक अभिनन्दन गरेको हो ।
महेन्द्रनगरस्थित खुलामञ्चमा जारी कञ्चनपुर पर्यटन महोत्सव एवं सुदूरपश्चिम औद्योगिक व्यापार मेलाको समापन समारोहमा उद्योग वाणिज्य सङ्घले १५ किलोको माला लगाएर उहाँलाई नागरिक अभिनन्दन गरेको हो । मेलाको १५औँ सस्करण भएकाले अध्यक्ष ओलीलाई १५ किलोको मालासहित अभिनन्दन गरिएको सङ्घले जनाएको छ ।
सो अवसरमा अध्यक्ष ओलीले नयाँ सरकार बनेसँगै सुदूरपश्चिममा विकास निर्माणले तीव्रता पाउने बताउनुभयो । “देश बनाउने अभिभारा नेकपा एमालेको काँधमा छ”, उहाँले भन्नुभयो, “हाम्रो नीतिअनुसार सुदूरपश्चिमको विकासलाई अगाडि बढाउँछौँ । तीन वर्षमा म प्रधानमन्त्री हुँदा सुरु गरेका यहाँका सबै कामले अब निरन्तरता पाउँछन् ।”
अध्यक्ष ओलीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह, दैजीछेला औद्योगिक क्षेत्र निर्माणले गति लिने बताउनुभयो । उहाँले दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह र महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको स्थलगत निरीक्षण गर्नुभएको थियो । सङ्घले मेलाको उद्घाटन समारोहमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई १५ किलोको माला लगाइदिएर सम्मान गरेको थियो ।