काठमाडौँ, ५ चैत : राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्त सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले सांसद पन्तलाई सभापतिमा चयन गरेको हो ।
नवनिर्वाचित सभापति पन्तलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराउनुभयो । उहाँले नवनिर्वाचित सभापति पन्तलाई बधाई तथा शुभकामनासमेत दिनुभयो ।
राष्ट्रियसभा नियमावलीअनुसार समितिको सभापति पदमा निर्वाचित सदस्यले राष्ट्रियसभाका अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेको छ । नवनिर्वाचित सभापति पन्तले शपथ लगत्तै पद बहाली गर्नुभयो । समितिको सभापतिको कार्यकाल दुई वर्षको हुन्छ ।
सो अवसरमा सभापति पन्तले समितिको कार्यक्षेत्रबमोजिम सुशासन कायम गर्न सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दिगो विकासका लक्ष्य हासिल गर्न आर्थिक सबलीकरण, जलवायु परिवर्तनको जोखिम न्यूनीकरणलगायत महत्वपूर्ण विषयलाई प्रभावकारी रुपमा उठाउने बताउनुभयो ।
सभापति पन्तले समितिको कार्यक्षेत्रसँग जोडिएका विषयलाई ‘टिमवर्क’ (समूहमा मिलेर गरिने काम) मार्फत प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई समितिकातर्फबाट सहजीकरण गर्ने बताउनुभयो । भ्रष्टाचार न्यूनीकरण नभएसम्म सुशासन प्रवर्द्धन नहुने भन्दै उहाँले त्यसतर्फ समिति क्रियाशील रहने बताउनुभयो ।
सरोकार समितिको सभापतिमा शेर्पा निर्वाचित
राष्ट्रियसभा अन्तर्गत सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सोनाम ग्याल्जेङ शेर्पा आज सर्वसम्मत निर्वाचत हुनुभएको छ ।
शेर्पालाई राष्ट्रियसभामा अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराउनुभयो । सपथ लगत्तै सभापति शेर्पाले पद बहाली गर्नुभएको छ ।
पद बहाली गर्दै उहाँले नेपालको संविधानको परिधिमा रहेर आफूले गर्नुपर्ने काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ‘मिनी सदन’का रुपमा रहेको समितिमा रहेर आवश्यक कानुन निर्माण र सहजीकरणका लागि काम गर्ने बताउनुभयो । उक्त समितिको सभापतिको कार्यकाल दुई वर्षको हुनेछ ।
—


















