–सागर राज तिमिल्सिना
पोखरा(कास्की), ५ चैत्र । पोखरा बजारदेखि पूर्वतर्फ रहेको काहुँ डाँडामा भीषण आगलागी भएको छ।
सोमवार साँझ करिब साढे आठ बजेदेखि सल्किएको डढेलोले तुरुन्तै भीषण रूप लिएको अधिकारीहरूले बताएका छन्।
आगो नियन्त्रण गर्न सशस्त्रको २१ जना र नेपाली सेनाका ४५ जनालाई घटनास्थलमा परिचालन गरिएको छ।
जङ्गलमा बलिरहेको आगो बस्तीमा सल्कन सक्ने जोखिमलाई ध्यानमा राखेर दमकल सहितको टोली आगलागीस्थल नजिकै खटिरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए।
पोखराको मणिपाल अस्पताल र काहुँडाँडामा दमकल तयारी अवस्थामा राखिए पनि आगलागी भएको स्थानसम्म दमकल पुग्न सक्ने अवस्था नरहेको बताइएको छ।
आगो बस्तीदेखि करिब एक सय मिटरको फरकमा आइसकेको बताइएको छ।
मणिपाल अस्पताल नजिकै रहेको काहुँ डाँडामा मात्र नभएर पोखरा उपत्यकाका वरपर रहेका अन्य डाँडाका थप आठ स्थानमा पनि आज सुरु भएको डढेलो अहिले पनि दन्किरहेको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले जानकारी दिए।
डढेलो लागेको स्थान नजिकै बस्ती रहेकाले स्थानीय बासिन्दालाई सतर्क गराइएको बताइएको छ।
अन्य ठाउँमा पनि आगलागी भइरहेको छ।
तर ती आगलागी बस्तीबाट टाढा छन्।
काहुँ डाँडाको आगो भने बस्ती र अस्पताल नजिकै आएको छ।
पोखरा ११ फुलबारीमा आगलागीका कारण फैलिएको धुवाँले सास फेर्न अफ्टेरो परेको पोखरा ११ फुलबारीकी सुजाता बाँस्तोलाले बताएकी छन्।
नजिकै मणिपाल अस्पताल भएकाले बिरामीलाई पनि अफ्टेरो पर्न सक्ने चिन्ता प्रकट भएको छ।
गाउँले र प्रहरीले अग्निरेखा बनाइसकेकाले बस्तीमा आगो आउने समस्या टरेको हुनसक्ने प्रहरीले ठानेको छ।
पर्यटकीय स्थलका रूपमा रहेको काहुँ डाँडामा पछिल्ला बर्षमा बस्ती बाक्लो बन्दै गएको छ।
हिउँदे वर्षा हुन नसकेका कारण डाँडाकाँडा सुक्खा भएकाले आगलागीको प्रकोप यस वर्ष अन्यका तुलनामा झन् बढी हुन सक्ने ठानिएको छ।