Prakash Adhikari May 13, 2018

काठमाडौं, ३० बैशाख । मेगा बैंक र टुरिज्म डेभलपमेण्ट बैंकको आजदेखि एकीकृत कारोबार आरम्भ भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आइतबार राजधानीमा आयोजित एक विशेष समारोहमा एकीकृत कारोबारको शुभारम्भ गरे ।

एकीकृट कारोबारको शुभारम्भ गर्दै गभर्नर डा. नेपालले बैंकका सञ्चालकहरुलाई अनावश्यक तबरले व्यवस्थापनमाथि दबाव नदिन चेतावनी दिए ।

उनले बैंकहरुलाई सरकारले प्राथमिकता तोकेको क्षेत्रमा लगानी गरी ढुक्क हुन आग्रह गर्दै अनावश्यक रुपमा बढी नाफाको लोभमा जथाभावी लगानी नगर्न पनि चेतावनी दिए ।

बैंकका सञ्चालकहरुलाई गलत तरिकाले ऋण लगानी गरेको भेटिएमा कारबाही गर्ने चेतावनी दिएका थिए ।

गभर्नर डा. नेपालले बैकिङ्ग सेक्टरमा आएको जनताको पैसालाई जिम्मेवारी पूर्वक लगानी गर्नुपर्ने र बैंका आएको निक्षेप व्यक्तिगत सम्पत्ति जसरी जथाभावी लगानी गरेर बैंकलाई अप्ठ्यारोमा नपार्न पनि सुझाब दिए ।

उनले बैंकमा संस्थापकहरुले राखेको शेयर वापतको रकम बैंकको कूल निक्षेपको तुलनामा नगण्य भएकोले जिम्मेवार ढंगले लगानी गर्न पनि सुझाव दिए ।

बैंकको पूँजी वृद्धिले गर्दा बैंकको संरचना मजबुत भएकोले नेटवर्थ बढेको र लगानी गर्ने क्षमता बढेको पनि बताए ।
उनले नाफाको मृगतृष्णाका पछाडि लाग्दा केही समय अगाडि थुपै बैंक र वित्तीय संस्थाहरुको अवस्था डामाडोल भएर केन्द्रीय बैंकले व्यवस्थापन सम्हाल्नु परेको उदाहरणबाट शिक्षा लिन पनि बैंकरहरुलाई आग्रह गरे ।

कमसल धितोमा कर्जा दिने काम नर्गन, राम्रा आयोजना र प्रोजेक्टहरुमा लगानी मुलुकको आर्थिक विकासलाई सघाउन पनि आग्रह गरे ।

गत बर्ष पाँच प्रतिशत भन्दा बढी यो बर्ष करिब ६ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि भएको उल्लेख गर्दै आगामी बर्ष ७ प्रतिशतको हाराहारीमा हुने लक्ष्य लिएका बताए । लगातार आर्थिक वृद्धिमा आएको सुधारले आर्थिक क्रियाकलापमा सुधार आएकोले बैंकहरुको भविष्य सुनौलो भएको उनको दावी थियो ।

उनले बैंक तथा वित्तीय संस्थाहरुको लगानीले आयात कम गरि निर्यात बढाएर व्यापार घाटा कम गर्न सघाउनु पर्ने बताए ।

Share Now

Leave a comment.