मनामा(बहराइन), १४ चैत्र । फिफा विश्वकप छनोट अन्तर्गत बहराइनमा भएको खेलमा नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ ।
बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल शून्यका विरुद्ध ३ गोलले पराजित भएको हो । पहिलो खेलमा ५-० को हार बेहोरेको नेपालले आज टोलीमा ४ परिवर्तन गर्दै केही आक्रामक टोली उतार्ने संकेत गरेको थियो । तर नेपाल खेल अवधिभर रक्षात्मक रह्यो । नेपाल माथि हावि भएको घरेलु टोलीले पाँचै गोल पहिलो हाफमा गर्यो ।
सातौं मिनेटमा बहराइनले खेलमा सुरुवाती गोल गर्न सफल भयो । नेपालले कर्नर किक क्लियर गर्न नसकेपछि डिफेन्डर सायद बाकेरको प्रहार डिफ्लेक्ट भएर पोस्टतर्फ गएको थियो ।
१७औं मिनेटमा बहराइनले पेनाल्टीमा अग्रता दोब्बर बनाउने अवसर पायो । काउन्टर अट्याकमा गोलकिपर किरण चेम्जोङले मोहम्मद मरहुनमाथि फाउल गरेपछि बहराइनले पेनाल्टी पाएको थियो । पेनाल्टीमा अब्दुल्लाह युसुफले गोल गर्दै स्कोरलाइन २-० मा पुर्याए ।
३६औं मिनेटमा बहराइनले तेस्रो गोल गर्यो । कोमाइल इलसवादले गोल गर्दै अग्रता तीन गोलको बनाएका हुन् ।
नेपाल ४ खेलमा अंकविहिन रहँदै समूहको पुछारमा छ । नेपालले युएई विरुद्ध ४ -०, यमन विरुद्ध २ -० र बहराइन विरुद्ध ५ -० को हार बेहोरेको थियो । युएई १२ अंक सहित समूहको शीर्ष स्थानमा छ । यस्तै ९ अंक सहित बहराइन दोस्रो र यमन ३ अंक सहित तेस्रो छन् ।
नेपालले दोस्रो चरणमा बाँकी रहेका दुई खेल जुनमा खेल्नेछ ।


















