न्यूयोर्क(संयुक्त राज्य अमेरिका), १४ चैत्र (बीबीसी) । गाजामा युद्धविरामका लागि सहमति गर्न हमासले अस्वीकार गरेपछि इजरायलले त्यसलाई तत्काल युद्धविराम हुनुपर्ने भन्दै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्बाट पारित प्रस्तावका कारण पुगेको हानिका रूपमा अर्थ्याएको छ।
हमासका मागलाई भ्रामक भन्दै इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुको कार्यालयले इजरायलले त्यसका अगाडि घुँडा नटेक्ने टिप्पणी गरेको छ।
हमासले अहिले जारी युद्ध अन्त्य हुनुपर्ने र इजरायली सेना गाजाबाट पूर्ण रूपमा फिर्ता गरिनुपर्ने माग राखेको छ।
संयुक्त राज्य अमेरिकाले इजरायली भनाइ सबै हिसाबले गलत रहेको प्रतिक्रिया दिएको छ।
हमासका सैन्य विभागका उपनेता मारिएको दाबी
सुरक्षा परिषद्को बैठकमा यूकेसहित १४ देश युद्धविरामको प्रस्तावमा उभिएका थिए भने संयुक्त राज्य अमेरिका मतदानमा सहभागी भएको थिएन ।
अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले हमासको प्रस्ताव सोमवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा भएको मतदानअघि तयार पारिएको बताउनुभएको छ।
यसैबीच इजरायली सेनाले हमासको सैन्य विभागका एक उपनेता मारिएको पुष्टि भएको दाबी गरेको छ।
इजरायलका अनुसार शरणार्थी शिविरमुनि रहेको एउटा सुरुङमा गरिएको आक्रमणमा मर्वान इस्सा नुसरतको ज्यान गएको थियो।
“हामीले सबै जासुसी सूचनाहरू जाँच गरेका छौँ “,इजरायली सैन्य प्रवक्ताले भन्नुभयो, “कारबाहीमा मर्वान इसा मारिनुभयो।”
हमासको राजनीतिक विभागका अधिकारी इज्जत अल(रिश्कले इजरायली दाबी आफूले नपत्याएको र आफ्नो समूहको सैन्य नेतृत्वले नै त्यसबारे ूवास्तविकता बाहिर ल्याउनेू बताउनुभयो।
इजरायली सैन्य प्रवक्ताले इस्सा गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको हमलाका जिम्मेवारमध्ये तेस्रो नम्बरमा रहेका व्यक्ति भएको बताउनुभयो।
इजरायलमा भएको आक्रमण १ हजार २ सय जनाभन्दा बढी मानिसको ज्यान गएको थियो भने २ सय ४० भन्दा बढी मानिसलाई हमासले बन्धक बनाएको थियो।
त्यसपछि गाजामा इजरेलले गरेको आक्रमणमा हालसम्म ३४ हजार ४ सय जनाभन्दा बढीको मृत्यु भएको दाबी हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गरेको छ।
इजरायली कारबाहीमा परी विगत २४ घण्टामा थप ८१ जनाको मृत्यु भएको उसले जनाएको छ।
इजरायलको आक्रोशित प्रतिक्रिया
गाजा युद्धको विषयमा महिनौँदेखि गतिरोध कायम छ। त्यहाँ तत्काल युद्धविराम गर्न आह्वान गर्दै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पहिलो पटक प्रस्ताव पारित गरेपछि इजरायलले आक्रोशित प्रतिक्रिया दिएको छ।
सुरक्षा परिषद्का १५ मध्ये १४ राष्ट्रले उक्त प्रस्तावको पक्षमा मतदान गरे।
उक्त प्रस्तावमा पहिलो पटक गाजामा तत्काल र दीर्घकालीन युद्धविराम माग गरिएको छ।
प्रस्तावमा सबै बन्धकहरूको तत्काल र बिनासर्त रिहा गर्न समेत माग गरिएको छ।
यसअघिका तीनवटा प्रस्तावमा विशेषाधिकार अर्थात् भीटो प्रयोग गरेको अमेरिका आफ्नो अडान फेर्दै यस मतदानमा सहभागी भएन।
त्यसलाई युद्धमा इजरेलले अवलम्बन गरेको शैलीप्रति अमेरिकी असन्तुष्ट रहेको सङ्केतका रूपमा हेरिएको छ।
विरोधस्वरूप इजरायलले गाजाको रफाह सहरमा आफूले गर्न सक्ने सम्भावित स्थल कारबाहीबारे छलफल गर्न वाशिङ्टन पठाउन लागेको आफ्नो प्रतिनिधिमण्डलको भ्रमण रद्द गर्यो।
उक्त सहरमा १० लाखभन्दा बढी मानिस बसेका छन्। तीमध्ये धेरै उत्तरी गाजाबाट विस्थापित भई त्यहाँ शरण लिन गएका हुन्।
त्यहाँ गरिने पूर्ण रूपको सैन्य कारबाहीले मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी अमेरिकाले दिएको छ।
त्यसपछि दोहामा भएको एउटा अप्रत्यक्ष वार्तामा अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूले पेस गरेको युद्धविरामसम्बन्धी नयाँ योजनालाई हमासले अस्वीकार गर्दै विज्ञप्ति जारी गर्यो।
उक्त समूहले गाजामा स्थायी युद्धविराम र पूर्ण रूपमा इजरायली सैनिकहरूको फिर्ताको माग गरेको छ भने उसले विस्थापित प्यालेस्टिनीहरूको पुनर्स्थापनाको पनि माग राखेको छ।
अप्रत्यक्ष वार्ता जारी
यद्यपि कतारको विदेश मन्त्रालयका प्रवक्ता मजेद अलअन्सारीले अप्रत्यक्ष वार्ता चलिरहेको र नरोकिएको दोहामा आयोजित पत्रकार सम्मेलनमा बताउनुभएको छ।
“वार्ताको लागि कुनै समयतालिका छैन। तर त्यो जारी छ, हाम्रा साझेदारको मध्यस्थता गर्ने प्रयासहित”,उहाँले भन्नुभयो। उहाँका अनुसार अहिले प्राविधिक टोलीहरूको तहमा वर्ता भइरहेको छ।
यद्यपि इजरायली सञ्चारमाध्यम र समाचारसंस्था रोएटर्सले इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै कतारमा १० दिनको वार्तापछि इजरायलले आफ्नो टोली फिर्ता बोलाएको विवरण प्रकाशित गरेका छन्।
अहिले हमासले अस्वीकार गरेको प्रस्तावमा ६ साताका लागि लडाइँ रोक्ने र इजरायली जेलमा रहेका ८ सय प्यालेस्टिनीको साटो हमासको नियन्त्रणमा रहेका ४० बन्धक मुक्त गर्ने विषय समाविष्ट थिए।