वाशिंटनडीसी(संयुक्त राज्य अमेरिका), १५ चैत्र(बीबीसी) । अमेरिकी अनुसन्धानकर्ताहरूले मङ्गलवार बाल्टिमोरको एक पुल भत्किनेगरी ठोक्किएको पानीजहाजको डेटा रेकर्डर फेला पारेका छन्।
उनीहरूले जसमार्फत उक्त मालवाहक पानीजहाजको ऊर्जा प्रणालीले बाल्टीमोर बन्दरगाहबाट निस्कने बित्तिकै किन काम गर्न छाड्यो भनेर थाहा पाउन सकिने आशा राखेका छन्।
राष्ट्रिय यातायात सुरक्षा निकायका प्रमुखले त्यसमा इन्धनको गुणस्तर जिम्मेवार रहे वा नरहेको बारे समेत हेरिने बताए।
यस घटनापछि कारण बाल्टिमोर बन्दरगाहलाई अनिश्चित कालका लागि बन्द गरिएको छ।
सो बन्दरगाह अमेरिकाको पूर्वी तटको व्यस्त मध्येको मानिन्छ र पुल भत्किएपछि उक्त सहर र आसपासमा ट्राफिक अस्तव्यस्तता देखा परेको छ।
६ जनाको अवस्था अज्ञात
२.६ किलोमिटर लामो पुल भत्किँदा हराइरहेका कम्तीमा ६ जनाको स्थिति अझै थाहा हुन सकेको छैन। उनीहरूको मृत्यु भएको आशङ्का गरिएको छ।
गोताखोरहरूले पानीमा खोजीकार्य फेरि थाल्ने अपेक्षा गरिएको छ।
बाल्टिमोर बन्दरगाहबाट श्रीलङ्काका लागि प्रस्थान गरेको डाली नामक पानीजहाज फ्रान्सिस स्कट की ब्रिजको एउटा पिलरमा ठोकिएको थियो। उक्त पुलको अधिकांश भाग भत्किएको छ।
स्थानीय समयानुसार मङ्गलवार ०१ः३० बजे उक्त दुर्घटना भएको थियो। त्यो बेला पुलमा केही सवारीसाधनहरू थिए।
पट्याप्स्को नदीमाथि निर्मित उक्त पुल २ हजार ६ सय ३२ मिटर लामो छ र बाल्टिमोर बन्दरगाहसम्म पुग्छ। कन्टिन्युअस ट्रस ब्रिज मानिएको उक्त पुल विश्वमा त्यस प्रकारको तेस्रो लामो पुल हो।
अमेरिकाको राष्ट्रिय गानका रचनाकार फ्रान्सिस स्कट कीको सम्मानमा उक्त पुलको नामकरण गरिएको थियो। उनी उन्नाइसौँ शताब्दीमा मेरिल्यान्डमा बस्थे।
अधिकारीहरूका अनुसार उक्त पानीजहाजको विद्युत् आपूर्तिमा समस्या देखा परेको थियो र दुर्घटना हुनुभन्दा केही बेरअघि चालकदलले सङ्कट उत्पन्न भएको जानकारी दिँदै सहयोग मागेको थियो।
नदीमा खस्ने को हुन् ?
दुर्घटना भएपछि खोजी अभियान सुरु भएको थियो। त्यसमा कैयौँ डुङ्गा र हेलिकोप्टर प्रयोग भएका थिए।
अधिकारीहरूले नदीबाट दुई जनालाई जीवितै बाहिर निकालिएको बताएका छन्। तर तीमध्ये एक जनाको अवस्था गम्भीर छ।
अमेरिकी कोस्ट गार्डका रिअर एड्मिरल श्यानन गिल्रिथका अनुसार नदीमा पानीको तापक्रम र मानिसहरू त्यहाँ खसेको समयलाई विचार गर्दा उनीहरूको जीवित नभएको ठान्न सकिने बताए।
अधिकारीहरूका अनुसार नदीमा खसेका मानिस पुलमा खाल्डाखुल्डी मर्मत गर्न खटिएका कामदार हुन्।
सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार उनीहरू एल साल्भाडोर, ग्वाटेमाला, होन्डुरस र मेक्सिकोका नागरिक हुन्। यद्यपि बीबीसीले त्यसको पुष्टि गर्न बाँकी नै छ।
दुर्घटनामा परेको पानीजहाजमा सवार सबै जना सकुशल रहेको बताइएको छ।
पानीजहाज पुलमा ठोकिनुअघि के भयो ?
दुर्घटनामा परेको मालवाहक पानीजहाजको नाम डाली हो। त्यो सिङ्गापुरमा दर्ता भएको छ।
डाली बाल्टिमोर बन्दरगाहबाट श्रीलङ्काको कोलम्बोका लागि हिँडेको थियो। गन्तव्यमा पुग्न त्यसलाई २७ दिन लाग्थ्यो।
तर एक घण्टा पनि नभई ३०० मिटर अग्लो उक्त पानीजहाज ४७ वर्ष पुरानो पुलको एउटा स्तम्भमा ठोकियो। एउटा सरकारी निकायका अनुसार बन्दरगाहबाट प्रस्थान गर्दा उक्त पानीजहाज सहज गतिमा अघि बढ्न सकेको थिएन।
त्यसपछि चालकदलले सम्बन्धित निकायलाई पानीजहाज ठोकिन सक्ने जोखिमबारे चेतावनी दिएको साइबर सुरक्षा र पूर्वाधारसम्बन्धी सुरक्षा निकायले उक्त घटनाबारे तयार पारेको गोप्य रिपोर्टमा उल्लेख छ।
मध्यरातमा यात्रा सुरु गरेको पानीजहाजमा अकस्मात् बत्ती गएपछि अन्धकार छाएको थियो।
त्यसपछि त्यो पानीजहाजले कामै गर्न सकेन। एकातर्फ बिजुली थिएन भने अर्कोतर्फ इन्जिनले पनि काम गर्न नसकेपछि उक्त दुर्घटना भएका विवरण आएका छन्।
मेरिल्यान्ड ट्रान्सपोर्टेशनका सचिव पोल वीडफेल्डले इन्जिनियरहरूले अझै पनि उक्त पुल भत्किँदा भएको क्षतिको लेखाजोखा गरिरहेको बताए।
बिजुली कसरी बन्द भयो ?
डालीमा के कारणले बिजुली बन्द भयो भन्ने स्पष्ट भइसकेको छैन।
न्याशनल ट्रान्स्पोर्टेशन सेफ्टीकी अध्यक्ष जेनिफर होमेन्डीले अनुसन्धानकर्ताहरूले उक्त पानीजहाजको डेटा रेकर्डरको अध्ययन गर्ने बताउनुभयो।
“त्यो अनुसन्धानका लागि महत्त्वपूर्ण साधन हो,” उहाँले भन्नुभयो।
मेरिल्यान्डका गभर्नर वेस मोरले पानीजहाजमा विद्युत् आपूर्तिमा समस्या देखिएको जानकारी चालकदलले दिएको पुष्टि गरेका छन्। पुलको स्तम्भमा ठोकिनुअघि पानीजहाजमा बिजुली गएको उहाँले बताउनुभयो।
अधिकारीहरूका अनुसार त्यसपछि कैयौँ सवारीसाधन नदीमा खसेका थिए। तीमध्ये ट्र्याक्टर ट्रेलरजत्रो एउटा गाडी पनि थियो।
पानीजहाजमा को थिए ?
शिपिङ कम्पनी सिनर्जी मरीन ग्रूपले बीबीसीसँग कुरा गर्दै उक्त मालवाहक पानीजहाजमा चालकदलसहित २२ जना भएको बताएको छ।
चालकदलका सबै सदस्य भारतीय नागरिक हुन् भने जहाजमा चढेका अन्य दुई जना पोर्ट पाइलट हुन्। दुवै पाइलट बाल्टिमोरका हुन्।
पाइलटहरू स्थानीय क्षेत्रबारे राम्रो जानकारी दक्खल भएका व्यक्तिहरू हुन्। उनीहरू पानीजहाजमा चढ्छन् र त्यसलाई बन्दरगाहभित्र प्रवेश गर्न र बाहिरिन सघाउँछन्।
एउटा विज्ञप्तिमा उक्त कम्पनीले दुर्घटनाको वास्तविक कारण अझै पत्ता लाग्न नसकेको भन्दै आफूले सङ्घीय निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ।
पानीजहाजबाट सामान ढुवानीको काम गर्ने कम्पनी मर्स्कले डाली पानीजहाज आफूले भाडामा लिएको र त्यसले आफ्ना ग्राहकको कार्ग्रो बोकेको जनाएको छ। तर त्यसमा मर्स्कका कुनै कर्मचारी थिएनन्।
कसरी भयो खोजी र उद्धार ?
बाल्टिमोरको फायर डिपार्टमन्ट, अमेरिकी कोस्ट गार्ड र मेरिल्यान्डका अन्य निकायहरू सक्रिय रूपमा उद्धारकार्यमा खटेका थिए।
बाल्टिमोर फायर डिपार्टमन्टका प्रमुख जेम्स वालेसले दुई जनाको उद्धार गरिएको पुष्टि गर्दै गम्भीर अवस्थाका एकलाई स्थानीय ट्रमा सेन्टरमा पठाइएको बताउनुभयो।
वालेसले नदीमा छालका कारण उद्धारकार्यमा चुनौती थपिएको बताउनुभयो। स्थानीय अधिकारीहरूले कठ्याङ्ग्रिँदो चिसो ठूलो चिन्ताको विषय बनेको र पुलनजिकैको वायुको तापक्रम झन्डै ३ डिग्री सेल्सिअस रहेको जानकारी दिएका छन्।
बाल्टिमोरका मेयर ब्र्यान्डन स्कटले सो विपद्लाई अकल्पनीय भन्दै अहिले पानीमुनि रहेका मानिसहरूको उद्धार गर्न ध्यान दिइनुपर्ने बताउनुभयो।
नदीमा हराइरहेका कम्तीमा छ जना सडक मर्मत गर्न गएका कामदार भएको बताइएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले आफू जतिसक्दो चाँडो बाल्टिमोर जाने र खोज तथा उद्धारलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ।
उहाँले जे गरेर भए पनि उक्त बन्दरगाह खोल्न र मानिसको क्षमताले भ्याएसम्म चाँडो उक्त पुल निर्माण गर्न निर्देशन दिएको बताउनुभएको छ ।
उहाँले उक्त घटनालाई दुर्घटना भन्दै सङ्घीय सरकारले पुलको निर्माणको सबै खर्च बेहोर्ने र त्यसलाई कंग्रेसका सदस्यहरूले अनुमोदन गर्नुपर्ने बताउनुभएको छ ।



















