Prakash Adhikari April 2, 2024

गनी अन्सारी / बीबीसी न्यूज नेपाली

काठमाडौं, २० चैत्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवारदेखि रनवेको उत्तरी बिन्दु (टूजीरो) बाट विमान अवतरणमा रोक लगाइएको अधिकारीहरूले बताएका छन्।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार क्षमता अभिवृद्धिका काम भइहेकाले बौद्धतर्फको उक्त बिन्दुबाट आगामी तीन महिनासम्मका लागि विमानहरू अवतरण गर्न दिइने छैन।

“पूर्वाधार निर्माणका काम जारी रहुञ्जेल रनवेको दक्षिणी बिन्दु (जीरोटू) बाट जहाजहरू अवतरण गर्न पाउनेछन्,” उहाँले भन्नुभयो।

अधिकारीहरूका अनुसार एशियाली विकास ब्याङ्क (एडीबी)को सहयोगमा हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि परियोजनाअन्तर्गत विभिन्न काम भइरहेका छन्। त्यसै सिलसिलामा एकातर्फबाट अवतरणमा रोक लगाइएको हो।

एउटा बिन्दु बन्द गरिने भएपछि रनवे छोटो हुँदा त्यसको असर पर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताउनुभएको छ।

प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार उत्तरी बिन्दु (टूजीरो) बाट अवतरण बन्द भएपछि आन्तरिक र बाह्य दुवैतर्फ असर पर्न सक्छ।

निर्माण कार्यले गर्दा रनवे टूजीरोको केही हिस्सा बन्द गरिएपछि पहिलाको भन्दा रनवे छोटो हुने उहाँले बताउनुभयो।

“रनवे टूजीरोबाट अवतरण गर्ने जहाजहरूलाई समस्या भयो। माउन्टेन फ्लाइटहरू रनवे जीरोटूबाट उडान गर्नुपर्ने हुन्छ। साना जहाजलाई ग्राउन्ड होल्डिङ र एअर होल्डिङको समय बढ्न सक्छ,” बीबीसी न्यूज नेपालीसँग भुलले भन्नुभयो।

त्यसका अतिरिक्त ठूला जहाजले बोक्ने वजन साबिकको भन्दा अब घटाउनुपर्ने हुन्छ।

“रनवे छोटो भएपछि जहाजको प्रकृति हेरेर करिब १५ देखि ३० प्रतिशत लोड पेनाल्टी हुन सक्छ,” उपप्रबन्धक भुलले थप्नुभयो।

“त्यो भनेको ती जहाजले पहिला जति लोड बोक्न सक्थे त्यति यात्रु र कार्गो लोडभन्दा अब केही कम बोक्नुपर्ने हुन्छ।”

उहाँका अनुसार रनवे विस्तारसम्बन्धी कामले गर्दा एउटा वाइड बडी विमानलाई छदेखि आठ टनसम्म लोड पेनाल्टी हुन सक्छ।

ठूला विमानहरूले अब सोहीअनुसार अधिकतम वजन कायम गर्नुपर्ने अधिकारीहरूले बताएका छन्।

अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता झाका अनुसार हवाई सेवा प्रदायक कम्पनीहरूलाई एक महिनाअगाडि नै जानकारी गराइसकिएको र तिनीहरूले सोहीअनुसार सेवा सञ्चालन गर्ने भएका छन्।

अधिकारीहरूका अनुसार शरद्‌यामको तुलनामा बढी पर्यटक भित्रिने वसन्तयाममा हवाई आवागमन बढी हुने गरेको छ।

तीन महिनाअघि नै विस्तारका काम सकेमा निर्धारित समय अगावै नै रनवे टूजीरो प्रयोगमा आउन सक्ने उनी बताउँछन्।

“सामान्यतया आन्तरिक सेवा प्रदायक जहाजहरूले टूजीरोबाट अवतरण गर्ने गरेका थिए। आन्तरिकतर्फ केही असर पर्छ। अवतरणमा ५।१० प्रतिशतसम्म असर पर्न सक्ला,” प्रवक्ता झाले थप्नुभयो।

पछि के फरक हुन्छ ?

अहिले एक आयोजनामार्फत् विमानस्थल विस्तार तथा सुदृढीकरणसम्बन्धी कामहरू अगाडि बढिरहेका छन्।

त्यसअन्तर्गत उत्तर वा बौद्धतर्फको रनवे टूजीरोको अन्त्यसम्म अन्तर्राष्ट्रिय पार्किङ विस्तार भइरहेको छ।

टूजीरोको अन्त्यसम्म ट्याक्सीवे जोडिएपछि रनवेभित्र छिरेर जहाजले लिने गरेको चार मिनेटको समय अब लाग्दैन।

अब रनवेमा छिरेर बढीमा दुई मिनेमा जहाजहरू उड्न सक्ने प्राधिकरणका उपप्रबन्धक भुल बताउनु हुन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

“यसको मतलब ठूला जहाज जसको चार मिनेटसम्म रनवे अक्युपेन्सी हुन्थ्यो, त्यो दुई मिनेटमा झरेपछि हामीले प्रतिघण्टा पहिला १५ वटा जहाजको मुभमेन्ट गराउन सकिरहेका थियौँ भने अब ३० वटा गराउन सक्छौँ,” उहाँले भन्नुभयो।

“हाल जारी विस्तार कार्य सम्पन्न भएसँगै रनवे अकुपेन्सी समय घट्छ जसले गर्दा प्रतिघण्टा उड्ने जहाजहरूको सङ्ख्या वृद्धि हुन्छ।”

“यसको अर्थ रनवेको ट्राफिक होल्डिङ क्यापासिटी वृद्धि हुन्छ। रनवेको क्षमता वृद्धि हुनु भनेको विमानस्थलको कुल अवतरण र उडान गर्ने क्षमतामा वृद्धि हुन्छ,” भुलले अगाडि भन्नुभयो।

विमानस्थलका प्रवक्ता झा पनि विस्तार कार्यले आगामी दिनमा अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढाउने बताउनुहुन्छ ।

“यो भएपछि रनवे अक्युपेन्सी कम हुन्छ। पहिला तपाईँले आन्तरिकतर्फ हेर्नुभएको होला। त्यहाँबाट रनवेमा छिरी बल्ल रनवे टूजीरोमा गएर विमानहरू उड्थे। त्यतिबेर रनवे अक्युपाई भइरहन्थ्यो त्यो अब हुँदैन,” उहाँले थप्नुभयो।

“त्यसैले रनवेमा सीधै जान पाइने भएपछि रनवे बढी प्रयोग गर्न पाइनेछ।”

Share Now