Prakash Adhikari April 5, 2024

वालिङ (स्याङ्जा), २३ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरणलाई कमजोर हुन नदिइने बताउनुभएको छ ।

नेकपा एमाले स्याङ्जाको नवौँ जिल्ला अधिवेशनको आज स्याङ्जाको पुतलीबजारमा उद्घाटन गर्दै उहाँले अहिलेको समीकरणलाई कमजोर हुन नदिने र थप मजबुद बनाउँदै लगिने बताउनुभएको हो । “यसअघि भएको गठबन्धन धेरैबेर टिक्दैन भनेको थिएँ, भयो पनि त्यस्तै”, उहाँले भन्नुभयो, “उक्त गठबन्धन खरानीको डल्लोजस्तो थियो, जुन पानी परे पनि फुट्थ्यो, सुके पनि फुट्थ्यो, अहिलेको गठबन्धन कमजोर नभई बलियो छ ।”

यो समीकरणलाई देखेर आन्तरिक तथा बाह्य शक्तिहरुको रुवाबासी सुरु भएको उहाँको भनाइ थियो । “नेकपा एमाले यस्तै सरकार बनाइरहने हेरफेर गरिरहने खेलमा लागिरहन्छ भन्ने पक्षमा होइन”, उहाँले भन्नुभयो, “देशलाई त्यही अवस्थामा छाड्ने हो भने देशमा राजनीतिक अस्थिरता, अराजकता हुने भएकाले निकासका लागि नयाँ समीकरण बनाएका हौँ ।”

कम्युनिष्ट आन्दोलनलाई आन्तरिक तथा बाह्य शक्तिहरुले घेराबन्दीमा हाल्ने र प्रहार गर्ने कोशिस भए पनि केही सीप नचल्ने बताउनुभयो । उहाँले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा पार्टीलाई अगाडि बढाउँदै ‘मिसन ८४’ लाई निर्णायक तहमा पु¥याउने गरी अगाडि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

जिल्लाको यस नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव एक÷एक जना, उपसचिव दुई जना र एक सय सदस्य गरी एक सय पाँच जनाको जिल्ला कमिटी चयन गर्नेछ ।

अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसङ्गठन सबैको प्रतिनिधित्व हुनेगरी कूल छ सय नौ जना प्रतिनिधि रहेका छन् ।

राप्रपा नेतासँग भेट

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासँग भेटघाट एवं छलफल गर्नुभएको छ ।

नेकपा एमालेको ११औँ कास्की जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ  समारोहलाई सम्बोधन गर्न यहाँ आउनुभएका अध्यक्ष ओलीले राप्रपाका गण्डकी प्रदेशका संसदीय दलका नेता पञ्चराम गुरुङसँग भेट गर्नुभएको हो ।

भेटमा अध्यक्ष ओलीले नयाँ सरकार गठनका लागि नेकपा एमाले, माओवादीसहितको गठबन्धनलाई सहयोग गर्न आग्रह गनुभएको राप्रपा गण्डकी प्रदेश संसदीय दलका नेता गुरुङले जानकारी दिनुुभयो ।

चैत २१ गते राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले एमाले–माओवादीको गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेसँगै गण्डकी प्रदेशमा सरकार गठनको विषय अन्योल बनेको छ । राप्रपाले सत्तागठबन्धन बाहिरको दललाई समर्थन गर्नसक्ने सङ्केत गरेसँगै एमाले–माओवादी गठबन्धन सो पार्टीलाई आफ्ना पक्षमा ल्याउन क्रियाशील बनिरहेका अवस्थामा अध्यक्ष ओलीले राप्रपा नेतालाई भेटेर सरकार गठनका लागि सहयोग गर्न आग्रह गर्नुभएको हो ।

अध्यक्ष ओलीले गण्डकी प्रदेशको समसामयिक राजनीति सम्बन्धमा छलफल गर्नुभएको राप्रपा गण्डकी प्रदेश संसदीय दलका नेता गुरुङले बताउनुुभयो । सरकार गठनमा सहयोगका सम्बन्धमा राप्रपाको केन्द्रीय समितिसँग सहकार्य गरेर आएमा आफूहरू सहयोगका लागि तयार रहने गुरुङले बताउनुुभयो । पार्टीको निर्देशन बाहिर जान नसकिने कुरा अध्यक्ष ओलीसँग स्पष्ट रुपमा जानकारी गराइएको उहाँले जानकारी दिनुभयो ।

साठी सदस्यीय गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई सदस्य छन् भने स्वतन्त्र एक प्रदेशसभा सदस्य रहेका छन् ।

Share Now