Prakash Adhikari April 7, 2024

बुटबल( रुपन्देही,लुम्बिनी) । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथग्रहण समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री महरालाई सपथ गराउनुभएको हो ।

प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम महरालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। नवनियुक्त मुख्यमन्त्री महरा लुम्बनीको पाँचौं मुख्यमन्त्री हुनुहुन्छ ।

यसअघि मुख्यमन्त्री पदबाट डिल्लीबहादुर चौधरीले चैत २२ गते प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गरेपछि नेकपा (एमाले)सहित पाँच दल र एक स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४८ जनाको समर्थनमा महराले यही चैत २३ गते प्रदेश प्रमुख समक्ष सरकार गठनको दाबी प्रस्तुत गर्नुभएको थियो ।

यस्तै, मुख्यमन्त्री महराले आजै सानो मन्त्रिमण्डल पनि गठन गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (९) अनुसार एमालेका नेता चेतनारायण आचार्य र माओवादी केन्द्रका दीपेन्द्रबहादुर पुन र जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ ।

नवनियुक्त मन्त्रीहरुलाई सोही समारोहमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १७२ बमोजिम पद तथा गोपनियताको सपथग्रहण गराउनुभएको छ ।

Share Now