काठमाडौं, २७ चैत्र । राजधानी काठमाडौंं उपत्यकासहित नेपालका विभिन्न भागमा बढेको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सक तथा अधिकारीहरूले सावधानी अपनाउन आग्रह गरेका छन्।
केही दिनदेखि उपत्यकामा बढिरहेको वायु प्रदूषणको मात्रा आइतवार साँझ एकाएक उच्च तहमा पुगेको वायु गुणस्तर मापन गर्ने निकायहरूले जनाएका छन्।
वातावरण विभागका अनुसार आइतवार साँझ काठमाण्डू उपत्यकामा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) २०० पुगेको थियो।
सोमवार अपराह्ण विभिन्न समयमा पनि राजधानीमा त्यस्तो सूचकाङ्क १०० भन्दा माथि पुगेको थियो।
नेपालमा एक्यूआई ४० भन्दा तल भएको अवस्थालाई सामान्य मान्ने गरिएको विभागका अधिकारीहरू बताउँछन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले एक्यूआई १५० भन्दामा माथि पुग्दा वायुलाई ूअस्वस्थू मान्छ। उक्त अङ्क ३०० भन्दा माथि पुगे त्यसलाई खतरनाक मानिन्छ।
विगतमा नेपालमा पनि एक्यूआई ३०० भन्दा माथि पुग्दा विद्यालयहरू बन्द गर्ने लगायतका कदम चालिएको थियो।
तत्काल पानी पर्ने सम्भावना कम
मौसमविद् तथा जानकारका अनुसार यसरी वायु प्रदूषण बढेका बेलामा वर्षा भए त्यसले प्रदूषण न्यूनीकरणमा सहयोग गर्छ।
तर नेपालमा केही दिन खासै वर्षा हुने सम्भावना छैन।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ।
नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।
पानी परेमा प्रदूषित वायु कम हुँदै जाने भए पनि तत्काल त्यस्तो अवस्था नदेखिएकाले वायुको गुणस्तरमा तुरुन्तै सुधार हुने अवस्था नरहेको जानकारहरू बताउँछन्।
वायु प्रदूषण बढ्नुको कारण
अधिकारीहरूका अनुसार नेपालमा हिउँद तथा सुक्खा याममा प्रायः वायु प्रदूषण बढ्ने गर्छ।
सवारीसाधनबाट हुने वायु प्रदूषण, निर्माणकार्यबाट उत्पन्न हुने र सडकबाट उड्ने धुलो, कलकारखाना र डढेलोबाट निस्किने धुवाँ वायु प्रदूषणका मुख्य कारण हुन्।
तर अहिले बढेको प्रदूषणको मुख्य कारण डढेलो भएको वातावरण विभागका उपमहानिर्देश तारादत्त भट्ट बताउँनुहुन्छ।
“अहिले देशैभरि डढेलो लागेको छ। त्यसले गर्दा वायु प्रदूषण बढेको हो”, उहाँले भन्नुभयो।
उहाँका अनुसार डढेलो नियन्त्रणमा नआईकन वायुको गुणस्तर सुधार हुने जस्तो देखिएको छैन।
राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार विगत एक सातामा देशभरि १०५ वटा आगलागीका घटना भएका छन्।
त्यसमध्ये वनजङ्गलमा लागेको डढेलोका घटना ४२ वटा छन्।
स्वास्थ्य समस्याको जोखिम
अहिलेको वायु प्रदूषणले विशेष गरी मानिसको फोक्सो र आँखामा समस्या हुन सक्ने चिकित्सकहरू बताउँछन्। त्यस्तै मुटुका रोगीहरूको समस्या पनि बढ्न सक्छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि एक चिकित्सकको भनाइ समेटिएको भिडिओ सामाजिक सञ्जालमा राख्दै सचेत रहन आग्रह गरेको छ।
“कुनै पनि कडा वायु प्रदूषणमा सामना भएमा मुटुरोगीको समस्या अझ बढ्छ”, उक्त भिडिओमा डा गरिमा श्रेष्ठले भन्नुभएको छ। उहाँले वायु प्रदूषणले श्वासप्रश्वासमा पनि समस्या हुनसक्ने बताउनुभएको छ ।
अर्का छाती तथा फोक्सो रोग विशेषज्ञ डा पङ्कजकुमार देवले अहिलेको प्रदूषणले मुख्य रूपमा दीर्घरोगीहरूलाई बढी असर गर्ने बताउनुभयो।
“दम तथा अन्य खालका फोक्सो र श्वासप्रश्वाससम्बन्धी रोगीहरूलाई खराब वायुले सबैभन्दा धेरै असर गर्छ भने स्वस्थ व्यक्तिलाई पनि विभिन्न सङ्क्रमण निम्त्याउन सक्छ”, उहाँले भन्नुभयो।
उहाँले वायु प्रदूषणका कारण सुक्खा खोकी लाग्ने, घाँटी चिलाउने तथा श्वासप्रश्वासका समस्याहरू देखिन सक्ने बताउनुभयो।
राजधानीको एउटा शिक्षण अस्पतालमा कार्यरत देवले भन्नुभयो, “त्यस्ता बिरामीको सङ्ख्या पछिल्ला दिनमा बढी पनि रहेको छ।”
उहाँले लामो खोकी लागेर आउने बिरामीको सङ्ख्या अहिले ह्वात्तै बढेको बताउनुभयो।
त्यस्तै छाला, नाक र आँखा चिलाउने खालका समस्या पनि देखिन सक्ने देवले बताउनुभयो।
जोगिन के गर्ने ?
वायु प्रदूषणको दुष्प्रभावबाट जोगिन सकेसम्म घरबाहिर ननिस्किन चिकित्सकहरूले सुझाव दिएका छन्।
श्वासप्रश्वाससम्बन्धी समस्याबाट बच्नका लागि घरभित्रै बस्नु उपयुक्त हुने डा. देवको भनाइ छ।
प्रदूषणको मात्रा बिहान र साँझ बढी हुने भएकाले त्यो अवधिमा बाहिर ननिस्किन उहाँले श्वासप्रश्वासका रोगीलाई सुझाव दिनुभयो।
त्यस्तै बाहिर निस्किनु नै पर्ने अवस्थामा मास्क लगाउन उहाँले सुझाव दिनुभयो।
घरभित्र बस्दा पनि झ्याल र ढोका बन्द गर्न तथा धूप नबाल्न तथा धूमपान नगर्न पनि चिकित्सकहरू सुझाव दिन्छन्।
सुक्खा खोकी लाग्ने, टाउको दुख्ने र वाकवाक लाग्ने जस्ता समस्या देखा परे चिकित्सकको राय लिन पनि देवले आग्रह गर्नुभयो।