सानेपा(ललितपुर), १ बैशाख । नयाँ वर्ष २०८१ सालको अवसरमा नेपाली कांग्रेसका नेताहरुले समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ, नयाँ वर्ष २०८१ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
उहाँले नेपाली जनताको लामो त्याग, संघर्ष, आन्दोलन र वलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धीहरूको रक्षा गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौतिहरूको एकजुट भई सामना गर्ने दृढ सङ्कल्प र अठोटका साथ नवीन अवसरहरूको उपयोग गरेर मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनु पर्ने बेला आएको बताउनुभएको छ । यसका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरु मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सिमाभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक रहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभएको छ , नयाँ वर्ष २०८१ ले हामी नेपाली बीचको एकतालाई अझ बढी मजुवुत र सुदृढ गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरेर आर्थिक, सामाजिक र सांस्कृतिक रुपले समृद्ध नेपाल निर्माण गर्न नयाँ जोश, उत्साह र जाँगर प्रदान गर्न सकोस् ।


















