Prakash Adhikari April 14, 2024

निरञ्जन राजवंशी / बीबीसी न्यूज नेपाली

काठमाडौं, १ बैशाख । नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटको शनिवारको खेलमा अर्को नयाँ कीर्तिमान् बनाएका छन्।

कुनै पनि ब्याटरले एक ओभरमा लगातार ६ छक्का प्रहार गर्नुलाई क्रिकेटमा दुर्लभ मानिन्छ।

तर शनिवार कतारविरुद्धको खेलमा ऐरीले दुर्लभ मानिने सोही काम साबित गरेर देखाए ।

यो सँगै उनी ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

https://twitter.com/KaaLeKeeto/status/1779296875566264381

अन्तर्राष्ट्रिय क्रिकेटमा पनि एकै ओभरमा ६ छक्का बनाउने खेलाडीको सूची निकै छोटो छ।

योसँगै ऐरी टी -२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन्।

यसअघि भारतका युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इङ्ग्ल्यान्डविरुद्ध एकै ओभरमा ६ छक्का बनाएका थिए।

त्यस्तै सन् २०२१ मा वेस्ट इन्डिजका किरन पोलार्डले श्रीङ्का विरुद्धको खेलमा ६ छक्का प्रहार गरेका थिए।

यस्तै एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिकाका हर्स्चेल गिब्सले सन् २००७ को विश्वकपमा नेदरल्यान्ड्सविरुद्धको खेलमा उक्त कीर्तिमान् बनाएका थिए।

अमेरिकाका जसकरण मल्होत्राले पनि पपुवा न्युगिनी विरुद्धको एक दिवसीय खेलमा त्यस्तै कीर्तिमान् बनाएका थिए।

ऐरीको यसअघिको कीर्तिमान्

ऐरीले खेलको अन्तिम ओभरमा कतारका बलर कमरान खानको बलमा यस्तो दुर्लभ ब्याटिङ गरेका हुन्।

यसअघि १९औँ एशियाली खेलकुदमा उनले मङ्गोलियाविरुद्ध पनि ६ छक्का प्रहार गरेका थिए। तर त्यस बेला उनले फरक ओभरमा ती छक्का प्रहार गरेका थिए।

दीपेन्द्र तिनै खेलाडी हुन् जसले मङ्गोलियाविरुद्ध ९ बलमा अर्धशतक बनाउँदै सबैभन्दा छिटो अर्धशतक बनाउने विश्व कीर्तिमान् बनाएका थिए।

उनको यो कीर्तिमान् अब अर्को खेलाडीले बराबरीसम्म गर्न सक्छन् तर तोड्न भने सक्दैनन्।

ऐरी नेपाली क्रिकेटमा टाइगर उपनामले चर्चित छन्।

Share Now