तेहरान(इरान), २ बैशाख (बीबीसी) । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा हमला गरेको छ। इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ २ सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेकामा ती धेरैजसोलाई निस्तेज पारिएको छ।
मानिसहरूले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन्।
इरानको रिभोल्युशनरी गार्डस्ले एक विज्ञप्तिमार्फत ती हमलालाई इजरायली अपराधको जबाफ बताएको छ।
जसमा उसले एप्रिलको सुरुमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको हमलालाई समेत उल्लेख गरेको छ।
इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इजरायलले दिने जबाफबारे छलफल गर्न वार क्याबिनेटको बैठक बोलाउनुभएको छ।
उहाँले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गर्नुभएको छ।
यसअघि इजरायल डिफेन्स फोर्सेस आईडिएफले तेहरानले अवस्थालाई थप चर्काउन खोजेकाले नतिजा झेल्नुपर्ने चेतावनी दिएको थियो।
इरानले आफूले थप हमलाहरू नगर्ने भन्दै इजरायली जबाफ वा अमेरिकाको अन्य कुनै संलग्नताविरुद्ध चेतावनी दिएको छ।
क्षतिको अवस्था के छ ?
इजरायलले हमलाहरू अझै नरोकिएको जनाएको छ।
इजरायली सेनाले दक्षिणी इजरायलको एक सैन्य शिविरमा सामान्य क्षति भएको जनाएको छ।
एम्बुलेन्स सेवाले विस्फोटनका क्रममा खसेको टुक्रा लागेर एक जना दश वर्षीया बालिका घाइते भएको जनाएको छ।
एउटा पछिल्लो विज्ञप्तिमा आइडिएफले धेरैजसो हमलालाई आफ्नो एरो हवाई प्रतिरक्षा प्रणाली र उक्त क्षेत्रमा रहेका आफ्ना रणनीतिक साझेदारहरूसँगको साथमा इजरायली भूमि पार गर्नु अगावै निस्तेज पारिएको जनाएको छ।
आइडिएफ प्रवक्ताले केही इरानी क्षेप्यास्त्र इजरायलमा खस्दा एक सैन्य केन्द्रमा थोरै क्षति भएको बताए तापनि त्यसबारे थप खुलाएनन्।
इजरायलको हवाई प्रतिरक्षा प्रणालीले आकाशमा क्षेप्यास्त्रहरू रहेको थाहा पाएपछि जेरुसेलममा साइरनहरू बजेका थिए।
अन्तर्राष्ट्रिय प्रतिक्रिया के छ ?
अमेरिकी राष्ट्रपति जो बाइडन सप्ताहन्तको बिदा छोट्याउँदै आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार र मन्त्रीहरूलाई भेट्न ह्वाइट हाउस फर्कनुभएको छ।
ह्वाइटहाउसको सिचुएसन रुममा भएको बैठकको तस्बिरसहित उहाँले इरान र उसका प्रोक्सीहरूबाट हुने जोखिमसँग जुझ्नका लाग इजरायलप्रतिको वासिङ्टनको प्रतिबद्धता फलामे कवच जस्तो रहेको बताउनुभएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार इरानले प्रहार गरेका केही ड्रोनलाई निस्तेज पार्न अमेरिकी लडाकु जेटहरू समेत संलग्न भएका थिए।
इजिप्टले आफ्नो हवाई प्रतिरक्षालाई अधिकतम सजग अवस्थामा राखेको जनाएको छ।
कायरोले उक्त क्षेत्र र त्यहाँका मानिसहरूलाई अधिकतम रूपमा संयमित रहन आह्वान गरेको छ।
ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकले इरानी हमलालाई लापरबाही भन्दै निन्दा गर्नुभएको छ। उहाँले इरानलाई आफै पछाडि भद्रगोल सिर्जना गर्न खोजेको आरोप लगाउनुभएको छ।
फ्रान्सले समेत इरानको निन्दा गर्दै उसको कदम अस्थिरताको नयाँ विन्दुमा पुगेको भन्दै चेतावनी दिएको छ।
राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेरसले आफू क्षेत्रीय रूपमा चर्कने अवस्थाको निकै वास्तविक खतरालाई लिएर गहिरो चिन्तामा परेको बताउँदै सबै पक्षलाई अधिकतम संयम अपनाउन आह्वान गरेका छन्।


















