Prakash Adhikari April 16, 2024

काठमाडौं, ४ बैशाख । शेयरको भित्री कारोबारमा प्रहरीले अनुसन्धान गर्ने समाचारले शेयर बजार त्रसित भएको छ । अन्य आर्थिक अवस्था सामान्य रहेर नयाँ बर्ष लागेपछि पनि शेयर बजारले उकालो गति लिन सकेन । मंगलबार नेपालको शेयर बजार परिसूचक २००० विन्दु तल झरेको छ।

मंगलबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा  १४.८१ अंकले घटेर १९९१.७१ विन्दुमा बन्द भएको छ। यस दिन कारोबार रकम पनि घटेको छ। मंगलबार कारोबार रकम २ अर्ब १० करोड रुपैयाँमा सिमित भएको छ।

यस दिन २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँ बराबरको ५४ लाख ७१ हजार ६८ कित्ता शेयर कारोबार भएको छ।

धितोपत्रको भित्री कारोबार( इन्साइडर ट्रेडिङ)मा नेपाल प्रहरीले अनुसन्धान गर्ने व्यवस्थाले लगानीकर्ताको मनोबल खस्केकोले यस्तो भएको बताइन्छ। धितोपत्र सम्बन्धी ऐन २०६३ को बुँदा नम्बर १०३ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेर राजपत्रमा प्रकाशन गरी ऐन कार्यान्वयनमा ल्याइएको छ । लगानीकर्ताको मनोबल खस्केर बजारमा बिक्री चाप बढेको छ।

यस दिन गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ९.९६ प्रतिशतले बढेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको ५.०२ प्रतिशत र दिब्यश्वरी हाइड्रोपावरको ४.४ प्रतिशतले बढेको छ। यता रुरु हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने पोखरा फाइनान्सको ६.७४ प्रतिशत र सिवाइसिएल लघुवित्तको ६.५० प्रतिशतले घटेको छ।

मंगलबार गोर्खाज फाइनान्सको १७ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सूर्य ज्योति लाइफ इन्स्योरेन्सको ७ करोड ४३ लाख र पोखरा फाइनान्सको ६ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

Share Now