धनगढी(कैलाली), ४ बैशाख । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई घुर्क्याएरै मुख्यमन्त्री लिने भएको छ ।
मुख्यमन्त्री नपाएर बर्तमान सत्ता गठबन्धन नै परित्याग गर्ने घुर्की दिएपछि सत्ता गठबन्धन एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भएको हो ।
गठबन्धनका अन्य दल समाजवादीलाई मुख्यमन्त्री दिन तयार भएपछि नागरिक उन्मुक्ति पार्टी पनि यसमा तयार भएको छ। यो नयाँ फर्मूलाले सो पार्टीमा पछिल्लो चरणमा देखिएको विवादको पनि अन्त्य गरेको छ ।
सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेससहितको नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन एकीकृत समाजवादीले दिएको समर्थन फिर्ता लिएको छ। र सो पत्र प्रदेश प्रमुखलाई दिएको छ।
नाउपाका सांसदहरूले दाबी छोड्न तयार भएपछि सत्तागठबन्धनले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति गरेका छन्।
यसअघि नागरिक उन्मुक्ति पार्टीभित्रैबाट कैलास चौधरी र लक्ष्मण किशोर चौधरीले छुट्टा छुट्टै दाबी पेश गरेपछि मुख्यमन्त्री चयन प्रक्रिया रोकिएको थियो।
एउटै पार्टीबाट दुईवटा दाबी पेश भएपछि प्रदेश प्रमुख नजिर मिया कानुनी परामर्शमा हुनुहुन्थ्यो।
तर, मंगलबार दिउँसो नाउपासँगै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र स्वतन्त्र सांसदसहित बसेको बैठकमा सहमति जुट्यो,एकीकृत समाजवादीका सुदूरपश्चिम दलका नेता सोडारीलाई मुख्यमन्त्री बनाउने ।
नेकपा एमालेको प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल, माओवादीका मानबहादुर धामी, एकीकृत समाजवादीका दीर्घ सोडारी र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीबीच यस्तो सहमति भएको थियो ।
अब नयाँ सहमतिबारे प्रदेश प्रमुखलाई जानकारी दिइने छ।
अब प्रदेश प्रमुखले फेरि मुख्यमन्त्रीका लागि दलहरूलाई आह्वानको सूचना दिनेछन्