काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताउनुभएको छ ।
‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेता कर्माचार्य क्रान्ति र आन्दोलनका निम्ति सकारात्मक वातावरण बनाउने राजनीतिक अभिभावक भएको बताउनुभयो ।
“उहाँको नाममा ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ स्थापना भएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “कर्माचार्यको सम्मान र सम्झनामा ललितपुरको महालक्ष्मीस्थानमा ‘नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय’ स्थापना भएको छ ।”
दिवङ्गत कर्माचार्यले २००५ सालदेखि प्रजातन्त्र सङ्घमा आवद्ध भएर राणाविरोधी आन्दोलन र मजदुर आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने चार जना संस्थापकमध्ये उहाँ एक भएको स्मरण गर्नुभयो ।
चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान विद्रोहबाट प्रेरित कर्माचार्यले कम्युनिष्ट पार्टीको गठनपश्चात् मजदुर सङ्गठन स्थापना गर्नुभएको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।
कर्माचार्य निष्कलङ्कित, विवादरहित, सादगी र मिलनसार नेता कर्माचार्य समन्वय तथा समझदारीका लागि सदा प्रयत्नशील रहनुभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सिद्धान्तनिष्ठ, क्रान्तिप्रतिको विश्वास, क्रान्तिकारी भावना भएको नेता भएको बताउनुभयो ।
पार्टी स्थापनामा अतुलनीय भूमिका
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्न नरबहादुर कर्माचार्यको योगदान अतुलनीय रहेको बताउनुभएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै उहाँले कर्माचार्य नेपाली कम्युनिष्ट आन्दोलनको धरोहर भएको बताउनुभयो ।
नेपालले कम्युनिष्ट आन्दोलनप्रति जनताको ध्यान आकर्षित गर्न रचनात्मक भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले नेपालको राजनीति जटिल रहेको उल्लेख गर्दै सत्ताका लागि गठबन्धन टुट्ने फुट्ने क्रम चलिरहेको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं परराष्ट्र«मन्त्री नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नेमध्येका एक नरबहादुर कर्माचार्यको योगदानलाई बिर्सन नहुने बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता लिलामणि पोखरेल, प्रतिष्ठानका सल्लाहकार डा.महेश मास्के, सहिद प्रतिष्ठानका अध्यक्ष धर्मशिला चापागाईंलगायतले कर्माचार्यले मुलुकको कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।