काठमाडौँ, १० वैशाख : विश्वका अधिकांश देशले खुला श्रम बजार नीति लिएसँगै मध्यपूर्वको विकसित मुलुक कतार अधिकांश नेपालीका लागि रोजगारीको थलो बन्यो । नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने ‘विप्रेषण’मा पनि कतारको हिस्सा उल्लेख्य रहँदै आएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको आठ महिनामा श्रम स्वीकृति लिइ कतार जाने नेपालीहरुको सङ्ख्या साढे २८ हजारभन्दा बढी छ । यही श्रम सम्बन्धका आधारमा गहिरिएको कतारसँगको नेपालको आर्थिक सम्बन्ध लगानी ल्याउने विषयमा भने प्रभावकारी बन्न सकेको देखिन्न ।
दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको करिब पाँच दशक पुग्न लागेको छ । हालसम्म श्रम बजारका हिसाबले दुई मुलुकबीचका सम्बन्ध बिस्तार भए पनि यो सम्बन्धले लगानी भित्र्याउने सम्बन्धमा अग्रसर भएको छैन ।
उद्योग विभागको तथ्याङ्कअनुसार कतारबाट निकै कम आयोजनामा मात्रै लगानीको प्रतिबद्धता आएको छ । विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीका अनुसार कतारबाट हालसम्म १२ वटा आयोजनामा लगानी प्रतिबद्धता आएको छ । जसमा तीन वटा क्षेत्रका चार आयोजनामा लगानी भित्रिएको देखिन्छ ।
“हालसम्म पर्यटनतर्फ एक, सूचना प्रविधि (आइसिटी)तर्फ एउटा, सेवामूलक क्षेत्रतर्फ दुई वटा आयोजनामा रु ४४ करोड ६० लाख ७० हजार बराबरको लगानी भित्रिएको देखिन्छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक अन्य क्षेत्रमा लगानी भित्रिएको छैन ।”
मुलुक विकासका लागि महत्वपूर्ण मानिने पूर्वाधार क्षेत्रमा अहिलेसम्म कतारको लगानी ल्याउन नसकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भनाइ छ । मन्त्रालयका सूचना अधिकृत शुभा श्रेष्ठ आगामी दिनमा विभिन्न पूर्वाधार क्षेत्रमा कतारको लगानी ल्याउनका लागि पहल गर्न सकिने बताउनुहुन्छ । कतार सरकार र त्यहाँका लगानीकर्तालाई नेपालको पूर्वाधार क्षेत्रमा लगानीमार्फत जोड्न प्रयास रहे पनि त्यो अहिलेसम्म सफल नभएको उहाँको भनाइ छ ।
“नेपालको पूर्वाधार क्षेत्रमा विश्व बंैक, एसियाली विकास बैंकलगायतका संस्थाहरुको लगानी छ, अन्य छिमेकी मुलुकहरुले लगानी गरिरहेका छन्”, उहाँले भन्नुभयो, “आगामी दिनमा कतारको लगानी पनि ल्याउनका लागि पहल गर्ने योजना छ ।”
तर लगानी सम्मेलनको पूर्वसन्ध्यामा हुन लागेको कतारी अमिरको भ्रमणमार्फत नेपालमा कतारी लगानी भित्र्याउन सकिने जानकारहरु बताउँछन् । कतारका अमिरको भ्रमणले त्यसका लागि सकारात्मक सन्देश जाने अपेक्षा समेत गरिएको छ । सरकारले लगानी सम्मेलनमा जलविद्युत्, पर्यटन, शिक्षा, खानीलगायतका पूर्वाधार निर्माणका आयोजनाहरु सोकेसमा राखेको छ । ती आयोजनामा कतारको लगानी ल्याउन सकिने जानकारहरुको बुझाइ छ ।
पूर्वाधारविद् इञ्जिनियर सूर्यराज आचार्य वैदेशिक लगानी ल्याउनका लागि कतार सम्भावना भएको मुलुक भएको भन्दै सरकारले कूटनीतिकमार्फत पहल गर्नुपर्ने सुझाव दिनुहुन्छ । उहाँ कतारका अमिरको भ्रमण सुनौलो अवसर भएको पनि बताउनुहुन्छ ।
“सरकार विदेशी लगानी, वैदेशिक सहयोगका सन्दर्भमा गम्भीर हुनुपर्छ, साथै लगानीको सुरक्षित वातावरण तय गर्नुपर्छ”, उहाँले भन्नुभयो, “कतारलगायत मध्यपूर्वका मुलुकहरुसँग ‘सोभरेन्ट वेल्थ फन्ड’मार्फत लगानी गर्ने नीति पनि हुन्छ । त्यसोहुँदा त्यहाँबाट लगानी ल्याउन सकिन्छ ।”
कतारको भौतिक पूर्वाधारमा नेपाली श्रमिकको महत्वपूर्ण योगदान रहेको भन्दै उहाँ यसले पनि दुई देशबीच यसप्रकारको सहकार्यमा वातावरण बनाउन सहयोग पुग्ने बताउनुहुन्छ । “कतारको विश्वकप फुटबल प्रतियोगिता सुरु हुनु अगावै रङ्गशाला निर्माणमा नेपाली श्रमिकको ठूलो योगदान छ । यस आधारमा पनि हामीले लगानीका लागि कतार सरकार र त्यहाँका लगानीकर्तालाई अनुरोध गर्न सक्छौँ”, उहाँले भन्नुभयो ।
कतारमा रोजगारीका लागि जाने श्रमिकलाई पनि राम्रो शिक्षा दिनसकेमा कतारले दक्ष जनशक्ति पाउने भएकाले सीपमुलक शिक्षामा पनि कतारलाई लगानी गर्न अनुरोध गर्न सकिने उहाँको बुझाइ छ । “राजनीतिक, कर्मचारी, कूटनीतिक तबरबाट लगानी बढाउन पह गर्न सकिन्छ”, उहाँले थप्नुभयो । दुई देशबीचको सम्बन्धलाई आर्थिक पारस्परिक लाभको सम्बन्धमा अगाडि बढाउन जरुरी रहेको आचार्यको भनाइ छ ।
गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) पूर्वअध्यक्ष भवन भट्टले कृषि, पूर्वाधार, जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा कतारको लगानी बढाउने सकिने सम्भावना रहेको बताउनुभयो । “पाँच लाखभन्दा बढी नेपालीहरु अहिले कतारमा कार्यरत छन्, उनीहरुले कतारको समृद्धिमा टेवा पु¥याइरहेका छन्”, उहाँले भन्नुभयो, “कतारले पनि नेपालको विभिन्न पूर्वाधारमा लगानी गरी समृद्धिको यात्रामा सहयोग गर्न सक्छ । यसका लागि कूटनीतिक पहल जरुरी छ ।”
आर्थिक तथा विकास मामिलाका जानकार डा गोविन्द नेपाल प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन नीतिगत, कानुनी, प्रकृयागत तथा संरचनागत सुधार गरे पनि अपेक्षितरुपमा वैदेशिक लगानी भित्रन नसकेको बताउनुहुन्छ । उहाँका अनुसार विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक व्यवसाय ऐन, श्रम ऐन, विदेशी लगानी नीति, लगानी बोर्डको स्थापना, स्वचालित दर्ता तथा प्रशासनलगायतका क्षेत्रमा सुधार गरिए पनि विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न विश्वस्त हुन नसकेको बताउनुहुन्छ ।
वैदेशिक लगानी अकर्षित गर्ने कुरामा प्रमुख राजनीतिक दलहरूबीच स्पष्ट एवं एकीकृत अवधारणाको अभाव रहेको उहाँको भनाइ छ । एउटै दलको पनि दलगत अवधारणा र व्यवहारमा भिन्नता देखिएको नेपालको बुझाइ छ ।
“वैदेशिक लगानीको सम्भावना भएका मुलुकसँग द्विपक्षीय लगानी सम्झौता तथा दोहोरो कर मुक्ति सम्झौता गरी लगानी सुरक्षाको प्रत्याभूति दिन आवश्यक छ”, उहाँले भन्नुभयो, “बढी लगानी भित्र्याउनका निम्ति विदेशी लगानीलाई धितोपत्रको दोस्रो बजार खुला गर्दै लैजानु आवश्यक छ ।”
पाटन (ललितपुर), १५ जेठः नेपाली जनताले गरेको सात दशक लामो सङ्घर्ष र २०६२÷६३ को जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते बसेको ऐतिहासिक संविधानसभाको पहिलो बैठकबाट नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा […]
काठमाडौँ, १५ जेठः सरकार आगामी आर्थिक वर्षको लागि श्रम तथा रोजगार क्षेत्रमा तीन अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री […]
कर्णाली, १८ जेठः कर्णालीका छोरीहरूको सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरिएको छ । ज्योति फाउन्डेसनले सुर्खेत वीरेन्द्रनगरमा आज सम्पन्न ‘कर्णाली छोरी सम्मेलन–२०८३’ कार्यक्रमबाट ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]