Prakash Adhikari April 24, 2024

काठमाडौं, १ बैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ ।

मंगलबार कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त बीमा योजनाको अनावरण गर्नुभएको हो।

 

अनिश्चितताले भरिएको संसारमा,आफ्ना बालबालिकाहरूको लागि स्थिर र समृद्ध भविष्य सुनिश्चित गर्नु सर्वोपरि हुने भएकोले सो आवश्यकता परिपूर्ति गर्नको लागि व्यापक कभरेज प्रदान गर्न नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको हो । यो योजनामार्फत आमाबाबुले आफ्नो बच्चाको सुनौलो भविष्य, गुणस्तरीय शिक्षा सुरक्षित छ भनी सुनिश्चित गर्न सक्ने र शैक्षिक खर्चदेखि लिएर बलियो आर्थिक सुरक्षा यस बीमा योजनाले प्रदान गर्ने बताइएको छ ।

 

“सुनिश्चित शिक्षा,सुरक्षित भविष्य” भन्ने नाराका साथ सार्वजनिक गरिएको नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना बालबालिका सम्बन्धी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) हो जसमा बीमित बालबालिकाको प्रवेश उमेर १ महिना (३० दिन पछि) देखि १७ वर्ष सम्म रहने र प्रस्तावकको प्रवेश उमेर २१ वर्ष देखि ६५ वर्ष सम्म रहनेछ ।

 

न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ५ वर्ष देखि अधिकतम बीमाशुल्क भुक्तानी अवधि २५ वर्ष सम्म हुनेछ । यो योजनाको न्यूनतम बीमाङ्क रकम २५ हजार रूपैयाँ तथा अधिकतम बीमाङ्क रकम आयश्रोतको आधारमा निर्धारण गर्न सकिनेछ।

 

यस योजनामा प्रस्तावकको बीमा प्रारम्भ भएको मितिदेखि जोखिम प्रारम्भ हुनेछ भने बालबालिकाको बीमा प्रारम्भ भएको मितिले २ वर्ष पछि वा बच्चाको उमेर पाँच वर्ष पूरा भए पछिको बीमालेखको वार्षिकोत्सव वा जुन अगाडी आउँछ सोही देखि जोखिम प्रारम्भ हुनेछ ।

यस योजना अन्तर्गत बीमालेख चालु रहेको अवस्थामा बीमाङ्क भुक्तानी परिपक्वता सुविधा अन्तर्गत बीमा अवधि समाप्ती मिति सम्म बीमित प्रस्तावक तथा बीमित बालबालिका जीवित रहेमा शर्तहरुको अधिनमा रही बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनस बीमा अवधि समाप्तिमा एकमुष्ठ भुक्तानी दिइनेछ ।

बीमा अवधि भित्र जोखिम प्रारम्भ नहुँदै प्रस्तावक भन्दा अगाडि बीमित बालबालिकाको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमित बालबालिकाको मृत्यु हुनुभन्दा अघिसम्म भुक्तानी गरिएको बीमाशुल्क (पूरक करार तथा अतिरिक्त बापतको बीमा शुल्क बाहेक) भुक्तानी गरिने छ भने बीमा जोखिम प्रारम्भ पछि बीमा अवधि भित्र बीमित बालबालिकाको मृत्यु भएमा बीमाङ्क रकमको २५(पच्चिस) प्रतिशत तथा आर्जित बोनस वा बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम (पूरक करार तथा अतिरिक्त बापतको बीमा शुल्क बाहेक) जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।

Share Now