Prakash Adhikari April 26, 2024

 

बेइजिङ(चीन),१४ बैशाख(बीबीसी) । चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्ना अमेरिकी समकक्षी एन्टोनी ब्लिङ्कनलाई चीनको मामिलामा अमेरिकाले सीमा नाघ्न नहुने बताउनुभएको छ ।

यी दुई देशका विदेशमन्त्रीहरूले शुक्रवार चीनको राजधानी बेइजिङमा भेटवार्ता गर्नुभएकोे थियो।

चिनियाँ विदेशमन्त्री वाङले बैठक सुरु गर्दै भन्नुभयो, “चीन र अमेरिका सही दिशातर्फ अघि बढेर स्थिरता कायम गर्नुपर्छ कि अधोगतितर्फ मोडिनुपर्छ?”

उहाँको उक्त मन्तव्य कूटनीतिक रूपमा बढी चेतावनीपूर्ण जस्तो देखिएको छ।

उहाँले चीन अमेरिका सम्बन्ध स्थिर हुन थालेको तर अझै पनि नकारात्मक कुराहरूले गर्दा त्यसको परीक्षण भइरहेको बताउनुभयो।

अमेरिकी विदेशमन्त्री ब्लिङ्कन एक वर्षभित्र दोस्रो पटक तीन दिने भ्रमणमा चीन जानुभएको हो।

चिनियाँ राष्ट्रपतिले के भने ?

शुक्रवारै चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेट गर्दै उहाँले आफ्नो चीन भ्रमणका औपचारिक भेटघाट टुङ्ग्याउनुभएको छ।

चिनियाँ राष्ट्रपतिले ब्लिङ्कनलाई अमेरिका र चीन ‘प्रतिस्पर्धी नभइ साझेदार हुनुपर्ने’ बताउनुभएको छ ।

उहाँले साझेदार भएकाले दुई देशबीच खराब खालको प्रतिस्पर्धा हुनु नहुनेमा पनि जोड दिनुभएको छ।

वाङ यी र ब्लिङ्कनबीच भने सीसँगको भेटभन्दा केही घण्टाअघि कुराकानी भएको थियो।

उक्त कुराकानीअघि शुक्रवार नै चिनियाँ विदेशमन्त्रीले दुवै देशहरूले कि सहकार्य गर्नुपर्ने वा त्यस्तो नभए टकराव हुने र त्यसले द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिनुभएको थियो ।

चीनको चासो र मामिला

उहाँले चीनको मुख्य चासो र चिन्ता उसको सम्प्रभुता, सुरक्षा र विकास भएकाले त्यसलाई ननाघ्न अमेरिकालाई चेतावनी दिनुभयो।

“सम्बन्धमा नकारात्मक कुराहरू अझै बढिरहेका छन् र भइरहेका छन् अनि सम्बन्धले सबैखालका गतिरोधहरू खेपिरहेको छ”, उहाँले भन्नुभयो,”चीनका विकाससम्बन्धी वैधानिक अधिकारहरू कारणविनै दबाइएका छन् र हाम्रा मुख्य चासो तथा हितले चुनौतीको सामना गरिरहेका छन्।”

वाङले ती चुनौतीहरू के हुन् भन्ने खुलाउनुभएन। तर यी दुई महाशक्ति राष्ट्रबीच कैयौँ संवेदनशील मामिलामा विवादहरू कायम छन्।

त्यस्ता कुरामा दुई देशको साउथ चाइना सीमा भइरहेको उपस्थिति, ताइवान सरकारलाई अमेरिकाले दिइरहेको सहायता र मानवअधिकारलगायतका विषयहरू छन्।

ब्लिङ्कनको भनाई

ब्लिङ्कन भने सञ्चारमाध्यमसमक्ष वाङ यी भन्दा बढी सचेत अवस्थामा प्रस्तुत हुनुभयो।

उहाँले सक्रिय कूटनीतितर्फ अघि बढ्नका लागि बेइजिङ र वाशिङ्टन दुवैको साझा जिम्मेवारी भएको बताउनुभयो।

उहाँले अघि बढ्नका लागि दुई देशबीच प्रत्यक्ष कुराकानीको कुनै विकल्प नभएकोमा जोड दिनुभयो।

आफ्नो देशका मात्र नभइ विश्वभरिका मानिसहरूका लागि पनि दुई देशको सम्बन्धको अर्थ हुने भएकाले आफूहरू त्यसमा सचेत बन्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले दुई देशबीच कस्ता कुरामा मत मिल्दैनन् भन्नेमा पनि स्पष्ट हुनुपर्ने ब्लिङ्कनले बताउनुभयो।

बेइजिङमा गरेको पत्रकार सम्मेलनमा ब्लिङ्कनले भनेका मुख्य कुरा

  • चिनियाँ अधिकारीहरूसँगको कुराकानीमा आफूले युक्रेन युद्धमा रुसलाई चीनले गरिरहेको सहायताबारे चासो र चिन्ता व्यक्त गरेको ब्लिङ्कनले बताउनुभयो।
  • उनले चिनियाँ अधिकारीहरूसँग साउथ चाइन सीमा भएका ूखतरनाक गतिविधिूबारे पनि कुरा गरेको जानकारी दिनुभयो।
  • अमेरिकामा हुनसक्ने टिकटकको सम्भावित प्रतिबन्धबारे आफ्नो भ्रमणका क्रममा चिनियाँ अधिकारीहरूसँग कुराकानी नभएको ब्लिङ्कनको भनाइ छ।
  • गाजामा जारी द्वन्द्व मध्यपूर्वको बृहत् क्षेत्रमा फैलन नदिनका लागि चीनले प्रमुख कूटनीतिक भूमिका खेल्न सक्ने ब्लिङ्कनले बताएका छन्।
  • उनले उक्त क्षेत्रमा तनाव बढाउने थप कार्य नगर्न इरानलाई निरुत्साहित गर्न पनि चीनले भूमिका खेल्नु पर्ने बताउनुभयो ।
  • ब्लिङ्कनले चीन र अमेरिकाबीच दरिलो आर्थिक साझेदारी हुनुपर्नेमा जोड दिए। तर त्यो समान अवसरका साथमा हुनुपर्ने बताउनुभयो।

के हो अमेरिका र चीनबीचको चिप युद्ध ?

पछिल्लो तनाव

चीन र अमेरिकाबीच विभिन्न हालै पनि विभिन्न विषयमा तनावहरू देखिएका छन्।

त्यस्ता विषयमा यसै साताको सुरुमा वाशिङ्टनले ताइवानलाई सैन्यसहित अन्य सहायता दिन गरेको निर्णय पनि पर्छ।

उक्त निर्णयप्रति बेइजिङले कडा प्रतिक्रिया दिँदै त्यो ूएक चीन नीतिको गम्भीर उल्लङ्घनू भएको बताएको थियो।

स्वशासित ताइवानलाई चीनले आफ्नो छुट्टिएको भूभाग मान्छ र अन्ततस् त्यो बेइजिङ मातहत आउनुपर्ने ठान्छ। तर ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र मान्छ।

ब्लिङ्कनले अमेरिकी संसद्‌ले चिनियाँको स्वामित्त्व रहेको टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने कानुन पारित गरेको केही दिनमै बेइजिङको भ्रमण गरेका हुन्।

Share Now