Prakash Adhikari April 27, 2024

फिक्कल (इलाम), १५ वैशाखः इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसकेको र कूल ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मतदान भएको जानकारी दिएको छ ।

कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र अन्य दुईले मतदान गरेका छन् । सो क्षेत्रमा ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई अन्यसहित एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७ दशमलव ४४ प्रतिशत मत खसेको थियो ।

इलाम–२ मा ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान भएको थियो । उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

उहाँका अनुसार मतगणना आज रातिबाट सुरु गर्ने तयारी छ । आज राति १०–११ बजेसम्ममा सबैतिरबाट मतपेटिका ल्याइसक्ने अपेक्षा मुख्य निर्वाचन अधिकृतको कार्यालयको छ ।

चाँडो मतपेटिका आए सर्वदलीय बैठक बसेर आजै रातिबाट मतगणना गरिने प्रजिअ यादवले बताउनुभयो । सदरमुकामबाट टाढाका पालिका चुलाचुली, माङसेबुङ, फाकफोकथुम गाउँपालिकाबाट मतपेटिका ल्याउन समय लाग्नेछ ।

मतगणनाका लागि इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह (सिटी हल) तयार गरिएको छ । सिटी हलको एक कोठामा तार जाली लगाएर गणकमात्र भित्र बस्न मिल्ने बनाइएको छ ।

मतपेटिका भण्डारणका लागि सभाहलको भित्री भाग तयार गरिएको छ । यस्तै प्रतिनिधिलाई बाहिर बस्ने ठाउँ मिलाइएको छ । मतगणनास्थलमा ११ वटा सिसी क्यामेरा जडान गरिएको छ ।

मतगणनास्थलमा भीडभाड हुन नदिन चोक बजारमा रहेको डिस्प्लेमा मतगणनाको परिणाम देखाइने भएको छ । यसका लागि प्राविधिक तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गर्ने तयारी छ ।

विसं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।

बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान

बझाङ प्रदेशसभा १ मा आज भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सो प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा ६१ हजार सात सय ४८ मतदाता छन् ।

जिल्लाका ७४ वटा मतदानस्थल र ९३ केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिष्पर्धामा छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट जनकबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट दिलबहादुर सिंह प्रतिष्पर्धामा हुनुहुन्छ ।

साथै नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही, जनमत पार्टीबाट सुशीलादेवी विष्ट, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, जनता समाजवादी पार्टीबाट रामबहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा उम्मेदवार रहनुभएको छ ।

Share Now