Prakash Adhikari April 29, 2024

 

विष्णु पोखरेल/ बीबीसी न्यूज नेपाली

काठमाडौं, १७ बैशाख । पश्चिम नेपालको दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि अन्तिम चरणको ड्रिलिङ कार्य सुरु गर्न लागिएको अधिकारीहरूले बताएका छन्।

त्यसका लागि उत्तरी छिमेकी देश चीनबाट ९० प्रतिशतभन्दा बढी उपकरणहरू पहिचान गरिएको क्षेत्रमा पुगिसकेको उनीहरूको भनाइ छ।

अन्वेषणका लागि गरिने अन्तिम ड्रिलिङका निम्ति आवश्यक पर्ने पूर्वाधारहरू बनाउने काम पनि सकिएको र अब चाँडै उक्त कार्य सुरु हुने बताइएको छ।

अधिकारीहरूका अनुसार नेपाल र चीनबीच भएको द्विपक्षीय सहमति बमोजिम चीनबाटै आएको जनशक्तिले ड्रिलिङको काम गर्नेछ।

कहिलेदेखि सुरु हुन्छ अन्तिम ड्रिलिङ?

अन्वेषणका लागि लगभग आवश्यक सबै उपकरण दैलेख पुगिसकेको बताइएको छ

खानी तथा भूगर्भ विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन भइसकेकाले अबको एक साताभित्र अन्तिम ड्रिलिङको काम सुरु हुनेछ।

“दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर(१ स्थित जलजले भन्ने स्थान पहिचान गरिएको छ। त्यहाँ ४५ रोपनी जग्गा अधिग्रहण पनि भइसकेको छ।”, नापितले भन्नुभयो, “अन्वेषणका निम्ति ड्रिलिङ गर्न आवश्यक संरचनाहरू तयार भइसकेका छन्। उपकरणहरू चीनबाट ल्याउने काम पनि लगभग पूरा भएको छ।”

उहाँका अनुसार त्यस क्षेत्रमा सुरक्षाकर्मीको प्रबन्ध गर्ने तथा कामदारहरूलाई बस्नका लागि शिविर बनाउने काम पनि सकिएको छ।

“पूर्वाधार सबै तयार भइसक्यो अब मशिन जडान हुँदैछ र एक साताभित्र अन्तिम ड्रिलिङ सुरु हुन्छ”, बीबीसीसँग उहाँले भन्नुभयो।

अहिलेको ड्रिलिङ किन महत्त्वपूर्ण

नापितले दिएको जानकारी अनुसार उक्त क्षेत्रमा पेट्रोलिय पदार्थ भएरनभएको र भएमा व्यावसायिक रूपमा निकाल्दा फाइदा हुन्छ कि हुँदैन भन्ने तय गर्न यो ड्रिलिङ महत्त्वपूर्ण रहेको छ।

“यसअघि भौगोलिक सर्वेक्षणका लागि सानो खालको ड्रिलिङ मात्र गरिएको हो। अन्वेषणका लागि हुन लागेको यो अन्तिम ड्रिलिङले नै वास्तविक कुरा पत्ता लगाउँछ “, उहाँले भन्नुभयो।

उक्त स्थानमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि चीनले नेपाललाई सहयोग गरिरहेको छ।

नापितले भन्नुभयो, “यो अन्वेषणबाट त्यहाँ तेल वा ग्यास छ भन्ने पत्ता लाग्यो भने त्यसले उत्पादनको ढोका खोल्ने छ र यसले नेपालमा पहिलो पटक पेट्रोलियमको खानी रहेको कुरालाई यो हदमा पुगेर पुष्टि गर्नेछ।”

उक्त अन्वेषणात्मक ड्रिलिङ नै त्यहाँ व्यावसायिक रूपमा पेट्रोलियम पदार्थ उत्खनन गर्न सकिन्छ कि सकिदैँन भनेर पुष्टि गर्ने अन्तिम चरण भएको नापितको भनाइ छ।

उहाँले दिएको जानकारी अनुसार चिनियाँहरूले उक्त स्थानमा ३ हजार ५ सयदेखि ४ हजार मिटर (झन्डै चार किमी) सम्म जमिनमुनि ड्रिल गर्नेछन्।

त्यसरी खनिने खाल्डोको मुख ५५.५६ सेन्टिमिटरको हुनेछ भने जमिनमुनि अन्तिम बिन्दुमा त्यो २० देखि ३० सेन्टिमिटरको हुनेछ।

सरकारी स्वामित्त्वको चिनियाँ कम्पनी चाइना न्याशनल पेट्रोलियम कर्पोरेशन (सीएनपीसी) अन्तर्गतको छिबु ड्रिलिङ एन्ड इन्जिनियरिङ कम्पनीले अन्वेषणको अन्तिम चरणको काम गर्दैछ।

उक्त कम्पनीका नेपालस्थित मानव संशाधन संयोजक सूर्यमणि लामिछानेका अनुसार यो चरणको मुख्य प्राविधिक काम गर्नका लागि चीनबाटै प्राविधिकहरू आएका छन्।

ती प्राविधिकहरूलाई नेपाली कामदारहरूले पनि सहयोग गरिरहेका छन्।

दैलेखमै रहनुभएका लामिछानेले भन्नुभयो, “चीनबाट अहिले २१ जना प्राविधिकहरू यहाँ आइसक्नु भएको छ थप केही केही दिनभित्रै आउँदै हुनुहुन्छ। हामी ४६ जना नेपालीले उहाँहरूलाई सहयोग गरिरहेका छौँ।”

सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको थियो।

तर कोभिड महामारीका कारण उक्त कार्य केही समय स्थगित हुन पुगेको थियो। त्यसले गर्दा काममा केही ढिलाइ भएको नापित बताउनुहुन्छ।

चिनियाँ टोलीले सुरुमा दैलेख जिल्लाका विभिन्न चार स्थानहरू पेट्रोलियम पदार्थको खोजीका लागि अन्वेषण गर्न उपयुक्त हुन सक्ने गरी पहिचान गरेको थियो।

त्यसपछि अहिलेको स्थानलाई बढी उपयुक्त मानेर त्यसैमा थप अन्वेषणको काम अघि बढाइएको थियो।

त्यहाँ हालसम्म भौगर्भिक, भूरासायनिक र साईज्मिक अर्थात् भूकम्पीय सर्वेक्षण समेत भइसकेको नापित बताउनुहुन्छ।

“अन्तिम चरणको यो अन्वेषणपछि हामी सहजै उक्त स्थानमा कति मात्रामा पेट्रोलियम पदार्थ छ र त्यहाँ तेल छ वा ग्यास छ पनि भन्न सक्छौँ”, उहाँले भन्नुभयो।

यद्यपि यो अन्वेषणपछि चिनियाँ भूमिका सकिनेछ र त्यहाँ व्यावसायिक रूपमा उत्पादन गर्न सकिने खालको पेट्रोलियम पदार्थको भण्डार रहेछ भने नेपाल सरकारले त्यसको उत्खननका लागि थप काम अघि बढाउनु पर्नेछ।

पेट्रोलियमसम्बन्धी परियोजना पनि लगानी सम्मेलनमा

नापितले दिएको जानकारी अनुसार हिजोदेखि सुरु भइरहेको लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई आकर्षित गर्न लुम्बिनी र चितवन क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको ठानिएका क्षेत्रसम्बन्धी परियोजना पनि राखिएको छ।

“ती परियोजनाहरू चाहिँ अहिले दैलेखमा गरिएको जस्तो ढङ्गले नभइ अन्वेषणदेखि उपत्पादनसम्मका लागि प्रतिस्पर्धामा दिनेगरी राख्न लागिएको हो”, उहाँले भन्नुभयो, “यदि कुनै लगानीकर्ता उत्सुक भएर त्यसमा लगानी गर्छु भने भने उनीहरूले अन्वेषण पनि गर्नेछन् र उत्पादन पनि गर्न पाउनेगरी प्रतिस्पर्धा गर्न सक्छन् ।”

नेपालमा पेट्रोलियम अन्वेषण

नेपाल सरकारले विभिन्न स्थानमा खनिज पदार्थ सर्वेक्षणका लागि अनुमतिपत्र दिएको थियो

 

नेपाल सरकारले विभिन्न स्थानमा खनिज पदार्थ सर्वेक्षणका लागि अनुमतिपत्र दिएको थियो

विगतमा नेपालका विभिन्न स्थानमा पेट्रोलियम अन्वेषणको कार्य अघि बढाइएको भए पनि हाल त्यो कार्य दैलेखमा मात्रै सीमित छ।

नेपालको दक्षिणी भाग, चुरे र महाभारत आसपासको क्षेत्रमा पनि पेट्रोलियम हुनसक्ने सम्भावना औँल्याइएको छ।

विगतमा अन्तर्राष्ट्रिय बोलपत्रमार्फत् पेट्रोलियम कम्पनीहरू छानेर अन्वेषणको कार्य अघि बढाइएको थियो।

वि।सं २०४५ सालमा मोरङको बाहुनीमा ३,५०० मिटरसम्म ड्रिल गर्दा त्यहाँ पेट्रोलियम पाइएन।

सरकारले देशभरि १० वटा ब्लक (स्थान)मा अन्वेषणको कार्य अघि बढाउनका लागि काम गरिरहेको अधिकारीहरू बताउँछन्।

नेपालमा पेट्रोलियम खानी

विगतमा ती ब्लकहरूमा युरोप, अमेरिका र अरब राष्ट्रहरूले काम गरेका थिए।

यद्यपि वर्षौँसम्म त्यसमा प्रगति हुन नसकेपछि उनीहरूसँगको सम्झौता सरकारले रद्द गर्‍यो।

नेपालले १० वर्षअघि सन् २०१४ मा अमेरिकाको बीबीबी च्याम्पियन र दुबईको इमिरेट्स असोसिएटेड बिजनेस ग्रुपको अनुमति रद्द गरेको थियो।

त्यस्तै सन् २०१५ मा अमेरिकी कम्पनी टेक्साना रिसोर्सेस र यूकेको केन इनर्जीको पनि इजाजत रद्द गरियो।

नेपालको तराई र शिवालिक क्षेत्रमा सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि झन्डै पाँच(पाँच हजार वर्ग किलोमिटरका १० वटा ब्लक (स्थल) छुट्टाएको छ।

ती ब्लक पूर्वदेखि पश्चिमसम्म फैलिएका छन्।

चीनले अघि बढाएको अध्ययनमा प्रगति देखिए नेपालमा पेट्रोलियम अन्वेषण गर्ने कार्यमा धेरैको आकर्षण बढ्ने अपेक्षा सरकारी अधिकारीहरू गर्छन्।

Share Now