Prakash Adhikari April 29, 2024

 

वाशिंटन(संयुक्त राज्य अमेरिका), १७ बैशाख(बीबीसी) । पूर्व पोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई चुप बस्नपैसा दिएको अभियोगमा अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि मुद्दा चलिरहेको छ।

त्यस्तो भुक्तानी दिनका लागि झूटो व्यापारिक विवरण तयार पारेको आरोपमा आपराधिक मुद्दा खेप्ने ट्रम्प पहिलो अमेरिकी पूर्व राष्ट्रपति हुनुहुन्छ।

ड्यान्यल्सले ट्रम्पले आफूसँग यौन सम्बन्ध राखेको र सन् २०१६ को चुनावअघि त्यसबारे चुप रहनका लागि ट्रम्पका पूर्व वकिलले १ लाख ३० हजार डलर आफूलाई दिएको दाबी गर्नुभएको छ।

यसमा मुछिनुभएका वकिल माइकल कोहेनलाई विभिन्न मुद्दाहरू लगाइएको छ र उहाँ जेलमा हुनुहुन्छ।

ती पूर्व पोर्नस्टारले सन् २०१८ मा आरोप लगाएपछिदेखि नै ट्रम्पले चाहिँ आफूले ड्यान्यल्ससँग यौन सम्बन्ध नराखेको बताउँदै आउनुभएको छ।

स्टोर्मी ड्यान्यल्स को हुन् ?

ड्यान्यल्सको वास्तविक नाम स्टेफनी क्लिफोर्ड हो र उहाँ अहिले ४५ वर्षकी हुनुभयो।

लुजियानामा जन्मिनुभएकी यी पोर्नस्टार तथा निर्देशकले त्यस्ता वयस्क चलचित्रमा गरेको कामका लागि कैयौँ पुरस्कारहरू पनि पाउनुभएको छ।

उहाँले केही हलिवुड चलचित्रहरूमा पनि पात्रको भूमिका निभाउनुभएको छ।

त्यसमा सन् २००० ताकाका हास्यप्रधान चलचित्रहरू द फोट्टी इयर ओल्ड भर्जिन र नक्ड अप जस्ता चलचित्रहरू पर्छन्।

उहाँले राजनीतिमा पनि प्रवेश गर्नुभएको थियो र पहिले आफूलाई रिपब्लिकन पार्टीमा रहेको बताउनुहुन्थ्यो। ट्रम्प पनि सोही दलबाट राष्ट्रपति बन्नुभएको थियो।

ड्यान्यल्सको दाबी

ड्यान्यल्सले सञ्चारमाध्यमहरूलाई दिएको अन्तर्वार्तामा सन् २००६ को जुलाईमा आयोजित एक च्यारिटी गल्फ प्रतियोगितामा आफूले ट्रम्पलाई भेटेको बताउनुभएको छ।

क्यालिफोर्निया र नेभाडा बीचमा पर्ने रिसोर्ट क्षेत्र लेक टाहोस्थित ट्रम्पको होटेलको कोठामा उनीहरूले एक पटक यौनसम्पर्क गरेको उहाँको आरोप छ। ट्रम्पका एकजना वकिलले चाहिँ त्यसै बेला उक्त कुरालाई कडा रूपमा अस्वीकार गर्नुभएको थियो।

एक जना अन्तर्वार्ताकारले उनीहरूले सँगै रात बिताएपछि ट्रम्पले उहाँलाई मौन बस्न भनेका थिए कि थिएनन् भन्ने प्रश्न सोध्दा उहाँले भन्नुभएको थियो, “उनी यसबारे चिन्तित देखिएनन्। उनी घमण्डी थिए।”

ट्रम्पकी श्रीमती मेलानिया ट्रम्प उक्त प्रतियोगितामा सहभागी हुनुहुन्थेन र त्यतिखेर उहाँले भर्खरै बच्चा जन्माउनुभएको थियो।

चुप बस्न धम्की र भुक्तानी

ड्यान्यल्सले सन् २०१६ को चुनावभन्दा केही दिनअघि कोहेनले ट्रम्पसँगको उहाँको सम्बन्धबारेमा चुपचाप बस्नका लागि १ लाख ३० हजार डलर रकम दिएको बताउनुभएको छ। उक्त चुनाव ट्रम्पले जित्नुभयो ।

आफ्नो परिवारको सुरक्षाको लागि चिन्तित भएकाले त्यो रकम आफूले लिएको उहाँ बताउनुहुन्छ। आफूलाई कानुनी र भौतिक क्षति पुर्‍याउने धक्की दिएर चुप लगाइएको उहाँको दाबी छ।

सन् २०१८ मा ड्यान्यल्सले सात वर्षअघि लस भेगासस्थित एउटा पार्किङमा कसरी एकजना नचिनेका व्यक्तिले आफ्नी नवजात छोरी साथमा रहेका बेलामा सम्पर्क गरेको थियो र ट्रम्पलाई एक्लै छाडिदिन भनेको थियो भन्ने स्मरण गर्नुभएको थियो ।

उहाँले इन टच पत्रिकालाई ट्रम्पसँगको सम्बन्धबारे बताउन अन्तर्वार्ता दिन राजी भए लगत्तै त्यो घटना भएको बताउनुभएको थियो।

सीबीएस सिक्टी मिनेट्ससँगको एउटा अन्तर्वार्तामा उहाँले ती अपरिचित व्यक्तिले आफ्नी छोरीलाई देखाउँदै भनेका कुरा सम्झिदैँ भन्नुभएको थियो, “यी कति सानी बच्ची। यी बच्चीकी आमालाई केही भइहाल्यो भने त्यो त नराम्रो हुनेछ।”

उक्त अन्तर्वार्ता प्रसारण हुनुअघि कोहेनसँग सम्बन्ध भएको एउटा कम्पनीले ड्यान्यल्सलाई २ करोड डलर बराबरको मुद्दा लगाउने धम्की दिएको थियो।

उक्त कम्पनीले ती पूर्व पोर्नस्टारले कुरा बाहिर नल्याउने गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको थियो।

उहाँले सीबीएसको कार्यक्रममा राष्ट्रिय टेलिभिजनमा बोलेर एक करोड डलरको जरिवाना तिर्नुपर्ने जोखिममा परेको बताउनुभएको थियो।

यद्यपि उहाँले भन्नुभएको थियो, “तर आफ्नो सुरक्षा गर्न आफैँ सक्षम हुनु मेरो लागि धेरै महत्त्वपूर्ण थियो।”

मौन बस्नका लागि पैसा दिनु गैरकानुनी हो ?

नन् डिस्क्लोजर अग्रीमन्ट (एनडीए) भनिने कुनै कुरा गोप्य राख्न गरिने सम्झौताका लागि कसैलाई क्षतिपूर्तिस्वरूप रकम दिनु गैरकानुनी होइन।

तर अभियोजनकर्ताहरू कोहेनले दिएको रकम ट्रम्पको व्यापारिक खातामा कसरी दर्ता गरिएको थियो भन्ने कुरामा केन्द्रित भएका छन्।

व्यापारिक विवरणमा उक्त रकमलाई कानुनी शुल्क भन्ने वर्गमा राखेर झूटा विवरण तयार पारेको आरोप उहाँलाई लगाइएको छ।

उक्त अनलाइन भुक्तानी राष्ट्रपति चुनावको केही दिनअघि भएको थियो।

एक जना अभियोजनकर्ता एल्भिन ब्रागले ट्रम्पले खतरनाक सूचनाहरू लुकाउने अपराध गरेको अभियोग लगाउनुभएको छ।

सन् २०१८ को अगस्टमा कोहेनलाई कर छली र क्यान्पेन फाइनान्ुुसका नियमहरू तोडेको आरोपमा दोषी ठहर्‍याइयो।

उहाँलाई ड्यान्यल्स र ट्रम्पकी अर्की प्रेमिका भनिएकी महिलालाई भुक्तानी दिएको कुरासँग सम्बन्धित विषयमा जेल सजाय तोकिएको थियो।

उहाँले सुरुमा उक्त भुक्तानीसँग ट्रम्पको कुनै सरोकार नभएको बताउनुभएको थियो।

तर पछि उहाँले ट्रम्पले नै उहाँलाई १ लाख ३० हजार डलर भुक्तानी गर्न निर्देशन दिएको बताउनुभयो ।

त्यसको क्षतिपूर्ति आफूले राष्ट्रपतिबाट पाएको उहाँले बयान दिनुभएको थियो।

ट्रम्पको भनाई

ट्रम्पले म्यानहटन फौजदारी अदालतसमक्ष झूटा व्यापारिक विवरण तयार पारेको सम्बन्धी ३४ विभिन्न आपराधिक मामिलामा आफू निर्दोष भएको विवरण पेस गर्नुभएको छ।

ड्यान्यल्सलाई भुक्तानी दिएकोबारे त्यहाँ अभियोग लगाइएको थियो।

ट्रम्पमाथि यौन सम्बन्धबारे मौन बस्नका लागि एक जना अर्की पूर्व प्लेबोय मोडेललाई भुक्तानी दिएकोबारे पनि अनुसन्धान भइरहेको छ।

उहाँले आफैँले खोलेको सामाजिक सञ्जाल ट्रुथ सोसलमा आफ्नो मुद्दाको सुनुवाइ सुरु हुनुअघि ट्रम्पले फेरि उक्त मुद्दाको नेतृत्व गर्ने न्यायाधीशप्रति लक्षित गर्दै लेख्नुभएको छ।

उहाँले यो मुद्दालाई डेमोक्र्याटहरूको नेतृत्वमा भइरहेको राजनीति प्रेरित कारबाही भन्ने गर्नुभएको छ।

यो किन अर्थपूर्ण छ ?

ट्रम्पका समर्थकहरूले उहाँको विगतको व्यवहार र उहाँविरुद्ध महिलाले लगाएको आरोपलाई खारेज गरेका छन्। त्यस्ता व्यक्तिहरूमा धार्मिक क्षेत्रका अगुवाहरू पनि रहेका छन्।

तर म्यानहटन मुद्दाको सुनुवाइ चुनावी वर्षमा भइरहेको छ र त्यसले राष्ट्रपतिको दौडमा रिपब्लिकन पार्टीको अग्रपङ्तिमा रहेका ट्रम्पलाई पटकपटक सुनुवाइमा उपस्थित हुनुपर्ने र चुनावी अभियान छाड्नुपर्ने अवस्थामा पुर्‍याउन सक्छ।

यो सुनुवाइ ६ सातासम्म चल्ने बताइएको छ।

ट्रम्पले दिउँसो अदालतमा उपस्थित हुने र रातभरि चुनाव प्रचार गर्ने वाचा गर्नुभएको थियो।

एक जना फौजदारी प्रतिवादीको रूपमा ट्रम्प अदालतमा उपस्थित हुन आवश्यक हुन्छ।

एक जना न्यायाधीश जुआन मर्चनले ट्रम्प अदालतमा उपस्थित नभए उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्ने धम्की दिनुभएको छ।

त्यसले ट्रम्पको चुनावी अभियानसम्बन्धी योजनाहरूलाई जटिल बनाउनेछ। तर एउटा फौजदारी सजायले पनि ट्रम्पलाई राष्ट्रपति चुनावका लागि अभियान जारी राख्नबाट रोक्न नसक्ने बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्कर बताउनुहुन्छ।

फौजदारी सजाय पाएका व्यक्तिले राष्ट्रपति बन्न पाउने वा नपाउने कुराबारे अमेरिकी कानुनमा भएको प्रावधान स्पष्ट पार्दै उहाँ भन्नुहुन्छ, ” वास्तवमा अमेरिकी कानुनमा त्यस्तो केही छैन जसले कुनै उम्मेदवारलाई चुनावी अभियान गर्न रोकोस् वा राष्ट्रपतिका रूपमा काम गर्न नै बन्देज लगाओस्।त्यस्तो अवस्थामा सजाय पाएर जेल परेको स्थितिमा कारागारबाटै पनि कसैले राष्ट्रपतिका रूपमा काम गर्न सक्छ।”

Share Now