कीर्तिपुर(काठमाडौं), १९ बैशाख । नेपाल भ्रमणमा आएको वेष्ट इण्डिज ए र नेपालको राष्ट्रिय क्रिकेट टिमबीच आज तेस्रो टी २० खेल हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः१५ मा सुरु हुनेछ।
पाँच खेलको सिरिजमा आथितेय र अतिथि दुबै टिमले एक एक खेल जितिसकेका छन् । आजको तेस्रो खेल जित्नेका लागि आउँदा दुई खेल दबाबरहित वातावरणमा खेल्न सहज हुने भएको दुवै टिम यो खेल जित्न प्रयासरत हुने देखिएको छ ।
सिरिजको पहिलो खेलमा ४ विकेटले विजयी नेपाल दोस्रो खेलमा भने वेस्ट इन्डिजसँग १० रनले हारेको थियो।
सिरिजका दुवै खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले उत्कृष्ट प्रर्दशन गरेका थिए। तर अन्य ब्याटरको प्रदर्शन संझन लायक रहेन् । नेपाली टिममा समन्वय र लयको सख्त अभाव देखिएको छ । राम्रो मानिएका ओपनर कुशल भूर्तेललाई टिकेर खेल्ने सुझाव र तालिम दिन प्रशिक्षक मोन्टी देसाई समेत असमर्थ देखिएका छन् ।
आईसीसी टी २० विश्वकपको तयारीमा रहेका दुवै टोली यस खेलमार्फत आफ्नो क्षमता परीक्षण गरिरहेका छन्।
आजको खेलपछि नेपालले विश्वकप खेल्न टोली घोषणा गर्नेछ।
विश्वकपका सहभागी हुने अन्य देशले धमाधम टोली घोषणा गरिरहेका छन्।
विश्वकपका लागि भनेर नै नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले खेलाडीको परीक्षण गरिरहेका छन्। त्यसैले आजको खेलमा पनि टोलीमा खेलाडी परिवर्तन गरिने संभावना छ।
प्रशिक्षक देसाईले पहिलो खेल खेल्ने टोलीमा दोस्रो खेलका बेला पाँच खेलाडी परिवर्तन गरेका थिए।
विश्वकप छनोटका लागि भनेर नै क्यानले पहिले घोषणा गरेको टोलीमा चार खेलाडी थप्दै २० सदस्यीय बनाइएको छ।
रोहित पौडेल कप्तानीमा मैदानमा उत्रिने नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन ।
त्यस्तै नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ए टोलीको नेतृत्व कप्तान रोस्टन चेसले गर्नेछन् । वेष्ट इण्डिजको टिममा एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स रहेका छन् ।