काठमाडौं, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा भए पनि प्रदेशदेखि स्थानीय तहसम्म पार्टीको संगठनहरू एकीकरण हुन भने झन्डै तीन महिना लाग्ने नेताहरूले बताएका छन्।
केन्द्रमा दुई अध्यक्षको व्यवस्था गरिएको भए पनि तल्ला तहका कमिटिहरूमा भने एकजना मात्रै अध्यक्ष हुने उनीहरूको भनाइ छ।
भातृ संगठनहरूको एकताको निर्णय भने नवगठित पार्टीको संगठन विभाग बनेपछि मात्रै टुङ्गो लाग्ने बताइएको छ।
दुई वाम पार्टीबीचको एकतासँगै केन्द्रीय स्तरको संगठनको संरचना र बाँडफाँटको टुङ्गो लगाइएको छ तर प्रदेश, जिल्ला र स्थानीय तहमा एकता अनुरूपको पार्टी संगठन बन्न भने अझै केही समय लाग्ने देखिएको छ।
समयसीमा
एकिकृत पार्टीको सचिवालय सदस्य बामदेव गौतमले भने, “तीन महिनाभित्र हामीले सबै तहमा संगठन निर्माण गर्छौं। दुई वटा अध्यक्षको व्यवस्था गरेका छैनौं भएका मध्ये जो मर्यादाक्रममा माथि छ त्यसले अध्यक्षता गर्छ एउटा पार्टीबाट अध्यक्ष भए अर्को पार्टीबाट सचिव हुन्छ।”
प्रदेशदेखि नगरपालिका र गाँउपालिकासम्म कमिटिसँगै सचिवालयको पनि व्यवस्था गरिने उनको भनाइ छ।
तर तल्लो तहका कमिटिमा केन्द्रको जस्तो एमालेबाट कतिजना र माओवादीबाट कतिजना भन्ने टुङ्गो लाग्न भने बाँकी रहेको नवगठित पार्टीका केन्द्रिय सदस्य जनार्दन शर्माले बताए।
उनले भने, “कतिजनाको कमिटि भन्ने विधानमा तोकिएको छ तर कुन पार्टीबाट कति जना भन्ने बारेमा केन्द्रीय समितिले नै निर्धारण गर्छ।”
दुवै पार्टीका भातृ संगठन, शुभेच्छुक संगठन जस्ता अन्य कमिटिहरूको पनि एकीकरणको काम गर्नु पर्ने देखिन्छ।
त्यसका लागि पार्टीको संगठन विभाग गठन पछिमात्रै निर्णय लिइने नेताहरूले बताएका छन्।
बीबीसीबाट