काठमाडौं, २३ बैशाख । नेपाल वायुसेवा निगमले कार्यकारी तहका कर्मचारीहरुलाई उडान सुरक्षा (एभिएशन सेफ्टि) तालिम प्रदान गरेको छ ।
कार्यकारी तहका कर्मचारीहरुको लागि अत्यावश्यक मानिने सो तालिम यही बैशाख १९ र २० गते दिइएको थियो ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाड.को प्रमुख आतिथ्य रहेको सो तालिममा निगमका कार्यकारी अध्यक्ष सहित विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाका मान्यता प्राप्त सुरक्षा प्रशिक्षक तथा लेखापरीक्षक भरतराज ढकालले उडान सुरक्षाका विभिन्न पक्षमा निगमका कार्यकारी तहका कर्मचारीहरुलाई तालिम दिनुभएको थियो । निगमले यस्तो तालिम कार्य प्रकृतिको आधारमा अन्य तहका कर्मचारीहरुलाई समेत दिइदै आइरहेको जानकारी दिएको छ ।
उक्त कार्यक्रममा उपस्थित हुनुभएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री तामाड.ले निगममा देखिएका चुनौती र समस्याहरुलाई आफुले गम्भिरतापूर्वक लिएको र अगाडि बढाएका हरेक सकारात्मक कार्यमा आफ्नो साथ र सहयोग रहने बचन दिनुभएको थियो ।
उहाँले नेपाल वायुसेवा निगम व्यवसायिक रुपमा काम गर्नुपर्ने राष्ट्रिय ध्वजावाहक भएकोले यसलाई राजनीतिबाट टाढा राखि सवै कर्मचारीहरु एकतावद्ध भई काम गर्न आह्वान गर्नुभयो । निगमले गर्दै आइरहेको ग्राउण्ड ह्याण्डलिङ्ग सेवा अरुलाई दिन भएका चलखेल बारे आफूलाई थाहा भएको र कुनै पनि हालतमा यस्ता कार्य हुन नदिनेमा आफू अडिग रहने प्रतिवद्धता जनाउंदै उहाँले निगमले पनि आफ्नो कार्यक्षमता र गुणस्तर वृद्धि हुने गरी काम गर्नुपर्नेमा ध्यनाकर्षण गराउनुभयो ।
उक्त अवसरमा निगमले गरेका कार्यहरु र भावि योजनाका बारेमा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले प्रकाश पार्नुभएको थियो । उहाँले निगम व्यवस्थापनले तयार गरेका व्यवसायिक कार्ययोजना र कार्यक्रमहरु कार्यान्वयन गरी सफल पार्न तालुक मन्त्रालय तथा नेपाल सरकारको साथ, सहयोग र संरक्षण आवश्यकता भएको बताउनुभयो । उहाँले निगमले सोही अनुरुपको सहयोगको अपेक्षा गरेको र त्यस किसिमको समन्वय तथा सहयोग सधैं प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
तालिममा सहभागीहरुलाई मन्त्री तामाड.ले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।


















