कायरो(इजिप्ट), २४ बैशाख । दशौँ हजार इजरायलीहरूले युद्धविरामसँगै हमासद्वारा बन्धक बनाइएकाहरूलाई स्वदेश फर्काउन माग गर्दै शनिवार राती र्याली आयोजना गरेका छन्।
तेल अभिभमा प्रदर्शनमा उत्रिएकाहरूले युद्ध होइन जीवन पवित्र हो भन्दै नारा लगाएका थिए।
कतिपयले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमाथि युद्ध लम्ब्याउन चाहेको आरोप समेत लगाए।
बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामका लागि इजिप्टको राजधानी कायरोमा इजरायल र हमासबीच शान्ति वार्ता सुरु भएको छ।शनिवार सुरु भएको वार्तामा उल्लेख्य नयाँ प्रगति नभएको तर आइतबार नयाँ चरणको वार्ता जारी रहने एक जना हमासका अधिकारीले बताएका छन्।
यसअघि हमासका अर्का एकजना अधिकारीले गाजामा दिगो युद्ध अन्त्य गर्ने बाहेकका कुनै पनि प्रस्तावलाई आफूहरूले स्वीकार नगर्ने बताएका थिए।
तर पछिल्लो वार्ता सम्बन्ध प्रस्ताव प्राप्त भएपछि आफूहरूको वार्ता टोली सकारात्मक भावका साथ काएरो प्रस्थान गरेको हमासले बताएको थियो।
“हामी प्यालेस्टाइनको माग पुरा हुने सहमति मात्रै गर्ने कुरामा प्रतिबद्ध छौँ,” हमासले भनेको छ।
अर्कोतर्फ, इजरायल सरकारले सहमति भए वा नभए पनि रफाह सहरमा आक्रमण गर्ने आफ्नो योजनालाई अघि बढाउने बताएको छ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले उक्त लडाकू समूहले युद्धविरामका लागि धेरै सोच्न नपर्ने बताउनुभएको छ।
४० दिन युद्धविराम गर्ने प्रस्ताव
इजिप्ट र कतारको मध्यस्थतामा पुन सुरु भएको वार्ताका लागि हमासको वार्ता टोली शनिवार इजिप्टको राजधानी पुगेको थियो।
अहिलेको वार्ता केही समयका लागि इजरायलको आक्रमण रोक्ने र हमासले बन्धक बनाएकाहरूलाई मुक्त गर्नेमा केन्द्रित देखिएको छ। तर युद्धविराम अस्थायी वा दिगो बनाउने विषय पेचिलो देखिएको छ।
हमासले युद्ध अन्त्यका लागि दिगो सहमतिको प्रतिबद्धता खोजे पनि इजरायल त्यसका लागि सहमत भएको छैन।
वार्ताका लागि ४० दिनको युद्धविराम गर्ने प्रस्ताव अघि सारिएको बताइएको छ।
अर्कोतर्फ, इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले वार्तामा सहमति भए वा नभए पनि रफाहमा आक्रमण गर्ने योजना कायमै रहने बताउनुभएका् छ।
इजरायलले दक्षिणी गाजाको रफाह सहरमा आक्रमण गर्ने योजना बनाएको छ जहाँ १२ लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिएका छन्।
गत अक्टोबर ७ मा हमासले इजरायलमाथी गरेको आक्रमणपछि सुरु भएको युद्धमा हालसम्म ३४ हजार भन्दा धेरै मानिसहरूको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अक्टोबर ७ मा हमासले कडा अवरोध तोडेर गरेको आक्रमणमा इजरायलमा १ हजार २ सय जनाको ज्यान गएको थियो भने २ सय ४० जनालाई बन्धक बनाएर लगिएको थियो।


















