Prakash Adhikari May 6, 2024

काठमाडौं, २४ बैशाख । सहकारी ठगी प्रकरणमा फरार रहेको भनिएका गितेन्द्र बाबु (जीबी) राईलाई नेपाल फर्काइदिन गृहमन्त्री रवि लामिछानेले मलेशियाका गृहमन्त्रीसँग कुरा गरेको गृह मन्त्रालयका एकजना अधिकारीले बताएका छन्।

नेपालले करिब एक महिना अघि नै औपचारिक पत्र पठाएर राईलाई स्वदेश फर्काइदिन गरेको आग्रहबारे मलेशियाले आइतवारसम्म कुनै औपचारिक जबाफ नदिएको नेपाली दूतावासले जनाएको छ।

मलेशियाका गृहमन्त्री सैफुदिन नासुतिन इस्माइलले नेपालका उपप्रधान तथा गृहमन्त्री लामिछानेसँग आफ्नो टेलिफोन संवाद भएको विवरण सार्वजनिक गर्नुभएको थिाये। लामिछानेको तर्फबाट भने यो संवादबारे कुनै विवरण सार्वजनिक गरिएको थिएन।

 

मलेशियाका गृहमन्त्री स्माइलले आफ्नो सामाजिक सञ्जालमा राष्ट्रिय सुरक्षा र विदेशी कामदारहरूको विषयमा कुरा भएको उल्लेख गर्नुभएको छ।

“राष्ट्रिय सीमामा सुरक्षा र सार्वजनिक सुशासन कायम गर्ने हाम्रो छलफलको मुख्य विषय थियो। राष्ट्रिय सुरक्षा कायम गर्नेबारेमा कुनै पनि सम्झौता नगर्ने विषयमा हाम्रो प्रस्ट सहमति रह्यो,” स्माइलले लेख्नुभएको छ।

उहाँले विदेशी कामदारहरूको विषय र सीमापार हुने अपराधका विषयमा पनि छलफल भएको उल्लेख गर्र्नुएपनि नेपालले मलेशियासँग स्वदेश फर्काइदिन आग्रह गरिरहेका जीबी राईको विषय उल्लेख गर्नुभएको छैन।

राईलाई नेपाल फर्काइदिन आग्रह

यसबारे बीबीसी न्यूज नेपालीको जिज्ञासामा गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले राईलाई फिर्ता पठाउने सहितका विषयमा गृहमन्त्री लामिछानेले कुरा राख्नुभएको बताउनुभया।

“कुराकानीमा त्यो सहित विविध विषयमा कुराकानी भए,” बीबीसीको जिज्ञासामा भट्टराईले भन्नुभयो।

भट्टराईले मलेशियामा रहेका नेपालीहरूको सुरक्षा र सीमापार अपराधका विषयहरूमा पनि छलफल भएको बताउनुभयो।

“अपराध अनुसन्धानको विषयमा गोपनीयता पनि कायम गर्नुपर्ने हुनसक्छ। अहिले यतिमात्रै भन्न सकिन्छ, यो विषयमा मन्त्रालयको चासो छ,” उहाँले भन्नुभयो।

केही समयअघिबाटै गृहमन्त्री लामिछानेले मलेशियाका गृहमन्त्रीसँग संवादका लागि समय मिलाइदिन परराष्ट्र मन्त्रालयसँग अनुरोध गरेको विवरण सार्वजनिक भएका थिए।

तर वपद्धद्यद्यमृ टेलिफोन संवादबारे क्वालालम्पुरस्थित नेपाली दूतावासलाई भने जानकारी नभएको अधिकारीहरूले बताएका छन्।

गृहमन्त्री लामिछानेलाई उशमम्का आलोचकहरूले कुनै समय आफ्ना व्यावसायिक साझेदार रहेका राईलाई पक्राउ गर्न नसकेको भन्दै प्रश्न उठाउने गरेका छन्।

मलेशियालाई नेपालले पठाएको पत्रमा के छ?

गृह मन्त्रालयले करिब एक महिनाअघि परराष्ट्र मन्त्रालय हुँदै मलेशियालाई पत्र पठाएर नेपालमा प्रहरीको खोजी सूचीमा रहेका राईलाई पक्राउ गरेर नेपाल फर्काइदिन अनुरोध गरेको अधिकारीहरूले बताएका छन्।

मन्त्रालयका प्रवक्ता भट्टराईले त्यसबारे लिखित प्रतिबद्धता केही नआएको बताउनुभयो।

“त्यसबारे लिखित जबाफ केही आएको छैन,” उहाँले भन्नुभयो।

मलेशियास्थित नेपाली दूतावासका प्रथम सचिव प्रेमबहादुर बुड्थापाका अनुसार दूतावासले नेपालको पत्र मलेशियाको परराष्ट्र मन्त्रालय हुँदै त्यहाँको गृह मन्त्रालय र मातहतका कार्यालयहरूमा पठाइसकेको छ।

“हाम्रो गृह मन्त्रालयले जीबी राईलाई पक्राउ गरेर नेपाल पठाइदिन आग्रह गरेको पत्र यहाँको अध्यागमन, कन्सुलर र प्रहरी सबैतिर पुगिसकेको छ,” उहाँले भन्नुभयो।

“तर मलेशियाले यसबारे केही निर्णय हालसम्म हामीलाई दिइसकेको छैन।”

गृह र परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार नेपालले राईमाथि नेपालमा लागेका आरोप, उनलाई पक्राउ गर्न इन्टरपोलबाट जारी भएको सूचना सहितका विवरण मलेशियालाई उपलब्ध गराएको छ।

तर मलेशियाले हालसम्म  उहाँ आफ्नो देशमा रहे वा नरहेको आधिकारिक जानकारी समेत नेपाली पक्षलाई नदिएको बुड्थापाले बताउनुभयो।

“दूतावासले यहाँबाट सक्दो पहल गरिरहेको छ तर कुनै जवाफ प्राप्त भइसकेको छैन,” क्वालालम्पुरबाट उहाँले टेलिफोनमा भन्नुभयो।

मलेशियाको अडान

जानकारहरूका अनुसार नेपाल र मलेशियाबीच सुपुर्दगी र पारस्परिक कानुनी सहायता सम्बन्धी सन्धिमा हस्ताक्षर नभएका कारण मलेशिया उनलाई नेपाल फर्काउन बाध्य नहुनसक्छ।

नेपाली अधिकारीहरूसँगको कुराकानीमा मलेशियाले नेपालमा भिसा अवधि भन्दा लामो समय बसेको आरोपमा आफ्ना दुई जना नागरिकमाथि सात वर्षको जेल सजाय तोकिएको मुद्दा फिर्ता लिन आग्रह गर्दै आएको एक जना अधिकारीले बताए।
उहाँका अनुसार मलेशियाकाअधिकारीहरूले आफ्नो देशमा पनि कैयौँ नेपालीहरू भिसा अवधि भन्दा लामो समय बस्ने गरेको र अधिकांशलाई जरिबाना गरेर छोटो समय मात्रै हिरासतमा राखेर नेपाल फर्काइने गरिएको भन्दै आफ्ना नागरिकका हकमा पनि लचक बनिदिन नेपाली पक्षलाई आग्रह गरिरहेका छन्।

राईलाई नेपाल फर्काउने सहमतिका लागि आफ्ना नागरिकलाई नेपालमा जेलमुक्त गराएर स्वदेश फर्काउन मलेशियाले उक्त विषय अघि सारिरहेको हुनसक्ने आकलन पनि नेपाली पक्षको छ।

Share Now