काठमाडौं, २५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान दोहोर्याएको छ।
सभामुख देवराज घिमिरेले मंगलबार सिंहदरबारमा बोलाउनुभएको शीर्ष नेतासहितको छलफलमा कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै रहेको जानकारी गराएको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले छानबिन समिति बनाउनुपर्ने अडान कायमै रहेको बताउनुभयो । उहाँले सरकारले त्यसलाई सघाउने विश्वास पनि व्यक्त गर्नुभयो ।
कांग्रेसका मुख्य सचेतक लेखकले आफूहरुले गृहमन्त्रीको राजीनामा नमागेको तर सार्वजनिक रुपमा देशव्यापी प्रश्न उठेकोले संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेको बताउनुभयो ।
बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारीको रकम हिनामिनाको विषयमा उपपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने विचार व्यक्त गर्नुभएको थियो।
सत्ता पक्ष भने सरकारी समिति बनाएर यस मुछिएका सत्तापक्षका नेताहरुलाई उन्मुक्ति दिंदै नीतिगत व्यवस्था सुझाव लिएर यो विवाद सामसुम पार्ने तयारीमा लागेको छ ।


















