कमलामाई (सिन्धुली), २६ वैशाख : सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गर्नुभएको हो ।
प्रधानमन्त्री दाहालले टिबीएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्न पसेको टिबीएम मेसिन सुनकोशी नदी किनार कानढुङ्ग्रीबाट बाहिर निस्किएको थियो । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुङ्ग्रीसम्म सुरुङ रहेको छ । यसको क्षेत्रफल १३ दशमलव ३ किलोमिटर छ ।
लक्ष्यभन्दा एक वर्षअघि नै सुरुङ ब्रेक थु्र गर्न सफल भएको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिनुभयो । खन्न सुरु भएको १९ महिनामा सुरुङ ब्रेक थु्र भएको छ । एकैदिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनाले जनाएको छ । विसं २०७९ असोज २८ गतेदेखि सुरुङ खन्ने काम आरम्भ भएकामा यसबीचमा ६ पटक अवरोध भएको प्रमुख बरालले बताउनुभयो । सुरुङभित्र सुक्खा पहिरो खस्ने, लेदोसहित पाखो नै खस्ने हुँदा सुरुङ खन्ने टिबीएम मेसिन अगाडि बढ्न नसक्दा काम रोकिएको थियो ।
उच्च प्रविधिबाट ५.५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भएको आयोजनामा कानढुङ्ग्रीस्थित सुनकोशी नदीमा ३० मिटर उचाइ र एक सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङमार्फत पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।
सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनीयरिङ (कोभेक) ले पाएको हो । यस कम्पनीले यसअघि भेरी बबई डाइभर्सनमा सुरुङ निर्माणको काम गरिसकेको छ । सुनकोशी मरिणमा सुरुङ खन्न मात्र कोभेकले रु १० अर्ब पाँच करोड ६८ लाखमा ठेक्का लिएको प्रमुख बरालले जानकारी दिनुभयो ।
नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिण खोलामा खसाली मधेसका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार काम सुरु भएको हो । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ । आयोजनाको कुल लागत रु ४९ अर्ब ४२ करोड रहेको आयोजनाले जनाएको छ ।
अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएसँगै राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताउनुभएको छ ।
सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा सुरूङ ‘ब्रेक–थ्रु’ गर्नुहुँदै प्रधानमन्त्री दाहालले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । “यस आयोजनाले मधेस प्रदेशका पाँच जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्नुका साथै बिजुली उत्पादन हुनेछ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “आज सुरूङको ‘ब्रेक–थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।”
सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “सुरूङमार्गको ब्रेक–थ्रु सम्पन्न हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ । ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ ।”
कृषि क्षेत्र नेपालको आर्थिक विकासको मुख्य मेरूदण्ड हुनुका साथै कुल ग्राहस्थ उत्पादनमा झन्डै एकतिहाइ योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले देशका लागि आवश्यकपर्ने खाद्यान्न आपूर्तिमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिवी न्यूनीकरण गर्न कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि अपरिहार्य रहेको बताउनुभयो । नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेश तथा भित्री मधेशभित्र नै पर्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तराई–मधेश क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिँचाइ आयोजनाहरू नदी बहाव प्रणालीमा आधारित रहेका बताउनुभयो ।
हिमनदीहरूको पानी कृषि उत्पादनका लागि प्रयोग गरिनुपर्ने बताउँदै उहाँले सोही पानीको स्रोतलाई जलविद्युत् उत्पादन, खानेपानीलगायत अन्य प्रयोजनमा प्रयोग गरी राष्ट्रको समग्र विकास गरिने उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले ठूला पूर्वाधारहरूको सफल निर्माणबाट नै नेपालमा सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल हुने भएकाले आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले देशको रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजनालाई प्रभावकारी रूपमा सम्पन्न गर्ने कार्यमा आ–आफ्नो ठाउँबाट समन्वय र सहयोग गर्न अपील गर्नुभयो ।
यस आयोजनाको सफल कार्यान्वयनबाट जलस्रोत तथा सिँचाइ क्षेत्रमा कार्यरत प्राविधिकहरूको नयाँ प्रविधिको उपयोग गर्दै प्राविधिक दक्षता हासिल गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलस्रोतको संयोजनात्मक रूपमा उपयोग गरी उर्वर भूमिबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आयातको असन्तुलन कम गर्न मद्दत पुग्ने बताउनुभयो । आयोजना सञ्चालनपश्चात् सुनकोशी र तामाकोशी क्षेत्रमा बसोवास गर्ने जनसङ्ख्याको बहुआयामिक विकास हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस क्षेत्रमा माछापालनदेखि आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्य वृद्धि एवं मनोरञ्जन तथा ताल÷जलासयमा पर्यटन व्यवसाय फस्टाउने बताउनुभयो ।
सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सीमानाबाट सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरूङमार्फत मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ आयोजनामा पु¥याउने छ । हाल सिँचाइ भइरहेको ४५ हजार ६०० हेक्टर जमीनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिँचाइ सुविधा पु¥याउने आयोजनाको प्रमुख उद्देश्य रहेको छ ।
–––