Prakash Adhikari May 10, 2024

फ्लोरिडा(संयुक्त राज्य अमेरिका), २८ बैशाख । आईसीसी टी २० विश्वकप २०२४ खेल्न अमेरिका आइपुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले अमेरिकामा अभ्यास खेलमा व्यस्त छ ।

अमेरिका उत्रेको नेपाली टोली मे ८ तारिखदेखि नै अभ्यास खेलमा छ । नेपाली राष्ट्रिय टिमले खेलाडीको क्षमतामा निखार ल्याउन अति व्यस्त कार्यतालिका बनाएर सो अनुरुप अभ्यास खेल थालिरहेको छ ।

नेपाल क्रिकेट संघले जारी गरेको कार्यतालिका अनुसार नेपाली राष्ट्रिय टोलीले मे ८ देखि ११ सम्म फ्लोरिडामा एक्लिमटाइजेशन क्याम्पमा अभ्यास गर्ने छ् । १२ मे मा राष्ट्रिय टोली वेष्ट इण्डिजको सेन्ट भिसेन्टका लागि प्रस्थान गर्ने छ । विश्वकप हुने मैदानमा १३ मे मा अभ्यास गर्ने छ । १४ मे मा सेन्ट भिसेन्ट विण्डवार्ड आइल्याण्डको टोलीसंग अभ्यास खेल खेल्ने कार्यक्रम छ । नेपाली टोलीले १५ मे का दिन आपसमा तालिम लिएर बाँकी समय आराम गर्ने छ् । १६ मे मा नेपाली टोलीले सेन्ट भिसेन्टर विण्डवार्ड आइल्याण्डसंग दोस्रो अभ्यास खेल खेल्ने छ । १७ तारिखमा एकापसमा अभ्यास खेलेर आराम गर्ने छ । १८ तारिखमा नेपाली टोलीले सेन्ट भिसेन्ट र विण्डवार्ड आइल्याण्डसंग तेस्रो खेल खेल्ने छ ।

१९ तारिखमा नेपाली राष्ट्रिय टोली अमेरिकाको ह्युस्टन फर्कने छ । २० तारिखमा ह्युस्टन उत्रने नेपाली टिम त्यो दिन त्यहाको वातावरणमा घुलमिल हुने छ । २१ तारिखको दिन नेपाली टोलीले ह्युस्टनमा अभ्यास खेल्ने छ । २२ र २३ तारिखमा नेपाली टोलीले ह्युस्टन हुरिकेनसंग अभ्यास खेल खेल्ने छ ।

२५ तारिखमा विश्वकपको औपचारिक वार्मअप खेल खेल्ने छ ।

नेपाली टोलीले विश्वकपको पहिलो खेल जेठ २२ (४ जुन )का दिन नेदरल्यान्ड्ससंग राती ९ः १५ देखि ग्रान्ड पेरी स्टेडियममा खेल्ने छ । नेपालले दोस्रो खेल जेठ ३० (१२ जुन) मा श्रीलंकासंग बिहान ५ ः१५, सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा खेल्ने छ । नेपालले तेस्रो खेल असार १ (१५जुन)का दिन दक्षिण अफ्रिकासंग बिहान ५ः १५ देखि आरोन्स भेल ग्राउण्ड किंग्स टाउनमा खेल्ने छ ।नेपालले समूह चरणको अन्तिम खेल असार ३ गते (१७ जुन)मा ंबंगलादेशसंग बिहान ५ः१५ मा आरोन्स भेल ग्राउण्ड किंग्स टाउनमा खेल्ने छ ।

नेपालले राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोलीलाई विश्वकप खेल्न चयन गरेको छ । टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जि.सी. सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

Share Now