Prakash Adhikari May 12, 2024

 

काठमाडौँ, ३० बैशाख । विश्वप्रख्यात पर्वतारोही कामीरिता शेर्पाले विश्वको अग्लो शिखर सगरमाथामा २९ औं पटक आरोहण गर्नुभएको छ भने सञ्चारकर्मी समेत रहनुभएकी पर्वतारोही पूर्णीमा श्रेष्ठले दोस्रो पटक ।

सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार उहाँले आइतबार बिहान ७ः२५ मा उहाँ सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो ।

यस पहिले सगरमाथामा २८ औं पटक आरोहणको विश्वकीर्तिमान कायम गर्नुभएका शेर्पाले आफ्नै रेकर्ड भंग गरेर नयाँ कीर्तिमान राख्नुभएको हो।

यो सिजनमा दोस्रोपटक जाने कि नजाने उहाँले आधार शिविर पुगिसकेपछि निर्णय लिने बताइएको छ ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार, कामीरिताले वसन्तकालीन यामका लागि सगरमाथा आरोहणको एकपटकका लागि अनुमति लिनुभएको छ। ‘यदि उहाँले दुईपटक आरोहण गर्ने चाहना राख्नु भएमा अनुमति लिन काठमाडौं आइरहनु पर्दैन ।

यसपटकदेखि सगरमाथा आधार शिविरमै पर्यटन विभागले फिल्ड अफिस स्थापना गरेको छ । त्यही ब्रिफिङ गरेर जुनसुकै आरोहीहरुले सगरमाथाको यात्रा दोब्बर तेब्बर बनाउन सक्ने छन् ।

पर्यटन विभागका अनुसार, कामीरिता शेर्पा विदेशी भीभीआईहरुको समूहको वरिष्ठ हाई अल्ट्च्यूड गाइडका रुपमा यसपाली सगरमाथा आरोहण गर्न जानुभएको हो । यसपाली सेभेन समिट र फोर्टीन पिक्स एक्सपिडसन गरी दुइटा कम्पनीका सदस्यहरुलाई सगरमाथा आरोहण गराउने उहाँको जिम्मेवारी रहेको छ ।

कामिरिता गत वर्ष एउटै सिजनमा दुई पटक सगरमाथा शिखर पुग्नुभएको थियो। सोलुखुम्बुको थामे गाउँका कामीरिताले सन् १९९२ बाट सगरमाथा आरोहणको यात्रा थाल्नुभएको हो ।

५४ वर्षीय कामिरिताले सगरमाथाका साथै माउन्ट केटु, चोयु, ल्होत्सेलगायतका हिमालकोसमेत सफल आरोहण गरिसक्नुभएको छ।

पूर्णिमा श्रेष्ठले सन् २०१८ मा पहिलोपटक सर्वोच्च शिखर चुम्नुभएको थियो ।

पूर्णिमाले के–टुसहित ८ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरिसक्नुभएको छ।

वसन्त ऋतुको आरोहण खुलेसँगै आजमात्रै थुप्रै आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। केही आरोही अहिले पनि बाटोमै छन्।

१० जना आइसफल डाक्टरहरुको समूहले आरोहीको लागि डोरी टाँग्दै सगरमाथाको शिखर चुमेपछि यो वर्षको वासन्त आरोहण सुरु भएको हो।

 

Share Now