Prakash Adhikari May 15, 2024

सेन्टभिसेन्ट, १ जेठ । आईसीसी टी २० विश्वकप प्रतियोगिताको लागि अमेरिका हुँदै क्यारेबिया पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्यहाँ खेलेको पहिलो अभ्यास खेल जितेको छ ।

विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोल्कानोज विरुद्धको पहिलो अभ्यास खेलमा जित हासिल गरेको हो । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भयो ।

घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ बल बाँकी रहँदै पूरा गयो । एक समय हातबाट टाढा गइसकेको खेलमा दीपेन्द्र र सोमपाल कामीको साझेदारी जमेपछि नेपालले जित हासिल गरेको हो ।

अन्तिम दुई ओभरमा ३८ रन चाहिएकोमा दीपेन्द्रले १९औं ओभरमा चार छक्का प्रहार गर्दै ओभरमा २६ रन ल्याएका थिए । अन्तिम ओभरको पहिलो तीन बलमा सोमपालले छक्का, दुई रन र चौका प्रहार गर्दै नेपाललाई जित दिलाए ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ७० रन जोडे । दीपेन्द्रले ५२ तथा सोमपालले ३२ रन जोडे ।

यस पहिले टस जितेर फिल्डिड. रोजेको नेपाली टिमले विनवार्ड्स भोल्कानोजबाट १ सय ९७ रनको लक्ष्य पाएको पाए १ सय ९७ रनको लक्ष्य पाएको थियो । घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएको थियो ।

सोमबारको खेलमा विश्वकप टोलीमा रहेका १५ मध्य कमल सिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल र अविनाश बोहोरालाई प्लेइङ ११ बाट बाहिर राखिएको थियो ।

रोहितकुमार पौडेलको कप्तानीमा मैदानमा उत्रेको नेपाली टिममा दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, सागर ढकाल रहेका थिए ।

नेपालले विनवार्ड्स भोल्कानोज विरुद्ध २ थप अभ्यास खेल खेल्नेछ । सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा नेपालले विश्वकपको दुई खेल खेल्दैछ । १६ र १८ मेका अभ्यास खेलसंगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ । त्यसपछि २१ मे मा टोलीले प्रशिक्षण गर्ने तालिका रहेको छ ।

२२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हुरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपालले यसअघि सन् २०२२ मा लिग २ खेल्न जाँदा पनि सोहि स्थानमा अभ्यास खेल खेलेको थियो ।

नेपाल २५ मे मा डालास प्रस्थान गर्नेछ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा २ वटा विश्वकप वार्म अप खेल खेल्नेछ ।

Share Now