काठमाडौं, ४ जेठ । संघीय संसदमा रहेका र सरकारमा नगएका विपक्षी दलहरुबीच सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन मतैक्यता देखिएको छ ।
संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आयोजनामा बसेको विपक्षी दलका शीर्ष नेताको बैठकले छानबिन समिति बनाउन माग गर्ने निर्णय गरेको हो ।
बैठकले बिहीबार सभामुख देवराज घिमिरेले विपक्षीलाई पेलेर अगाडि बढ्न खोजेको विषयलाई पनि उठाउने भएको छ । विपक्षी दलहरूले हिजोको घटनाबारे सभामुखलाई संयुक्त रूपमा ध्यानाकर्षण गराउने निर्णय गरेका छन् ।
सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लगातार संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।
आज भएको विपक्षी दलहरुको संयुक्त बैठकमा संसदका नियमित प्रक्रिया सुचारु गर्न संसदीय छानबिन समितिको गठन अनिवार्य न्यूनतम् शर्त भएकोमा एकमत देखिएको थियो ।
बैठकमा कांग्रेसका साथै, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका शीेर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।


















