कीर्तिपुर(काठमाडौं), ५ जेठ, । ललितपुर मेयर्स वुमन्स टी २० कपको उपाधि एपीएफले बाजी मारेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमविरुद्ध २ रनको रोमाञ्चक जित निकाल्दै एपीएफले उपाधिमा कब्जा जमाएको हो । यसअघिका दुई संस्करणको उपाधि एपीएफले नै जितेको थियो ।
१ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५ विकेटको क्षतिमा १ सय ५३ रन बनायो । कविता जोशीले आक्रामक ब्याटिङ गरे पनि अन्तिम ओभरमा रन जोड्न नसक्दा टोलीलाई जिताउन सकिनन् ।
कविताले ४५ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ६७ रन बनाइन् । लक्ष्मी साउदले २९, बिन्दु रावलले १९, साबित्रा धामीले १२, सम्झना खड्काले १० र रुबी पोद्दारले ५ रन बनाइन । रितु कनौजिया शून्य रनमा आउट भइन् ।
सुदूरपश्चिमलाई रोक्न एपीएफकी करुणा भण्डारीले २ तथा सुमन बिष्टले एक विकेट लिइन ।
यस अघि खेलमा टस जितेर ब्याटिड. गरेको एपीएफले २० ओभरको खेलमा ४ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको थियो ।
एपीएफका लागि सीता रानामगरले सर्वाधिक ७४ रन बनाइन् । उनले ८ चौका प्रहार गरिन् । राजमति ऐरीले ४६ बलमा ७ चौका मद्दतले ५० रन बनाइन् ।
ममता चौधरी १० र सरिता मगर एक रनमा अविजित भइन भने इन्दु बर्मा ९ र रोमा थापा ६ रन जोडेर आउट भए ।
एपीएफलाई रोक्ने क्रममा सुदूरपश्चिमकी विन्दु रावल, राधिका पुजरा र रितु कनौजियाले एकरएक विकेट लिएका थिए ।
ललितपुर मेयर कपमा एपीएफ अपराजित हुँदै फाइनल आएको हो भने सुदूरपश्चिम एपीएफसँग लिग चरणमा पनि पराजित भएको थियो ।


















