Prakash Adhikari May 19, 2024

सेन्टभिसेन्ट, ६ जेठ । आईसीसी पुरुष टी २० विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो खेलमा पराजय ब्यहोरेको छ।

पार्क हिल मैदानमा शनिबार भएको तेस्रो अभ्यास खेलमा नेपाल ६७ रनले पराजित भएको हो ।

सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा  हार ब्यहोरेको हो ।

२ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो । कप्तान रोहित पौडेलले ३ चौका र ४ छक्का मद्दतमा ३६ बलमा ५३ रन बनाए ।

ओपनर आशिफ शेखले २४, सन्दीप जोराले २१ र करण केसीले १३ रन बनाउनु बाहेक अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । विनवार्ड्सका डैरोन नेड र कभेम होजले समान ३ र निकलस रेडहेड र डिन ब्राउनले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर घरेलु मैदानमा ब्याटिङ गरेको विनवार्ड्सले डिलन डगलस र शाद्रक डेसकार्टेको अर्धशतक मद्दतमा २ सत ५ रन बनायो । डिलनले ३२ बलमा ५६ रन बनाए । शाद्रकले २७ बलमा ५५ रन जोडे ।

नेपालका कमलसिंह ऐरीले ४, सोमपाल कामीले ३ तथा करण केसी, सागर ढकाल र कुशल भुर्तेलले समान १ विकेट लिए ।

तेस्रो खेलमा नेपालले अघिल्लो टोलीमा रहेका ३ खेलाडी परिवर्तन गरेको थियो । ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराको ठाउँमा करण केसी, सागर ढकाल र कमल सिंह ऐरीले खेलेका थिए ।

अब नेपाली‌ टोली अमेरिका जानेछ । ह्युस्टनमा मे २२ र २३ मा २ अभ्यास खेलपछि टोली ड्यालस जानेछ । त्यहाँ क्यानाडासँग‌ मे २७ र अमेरिकासँग मे ३० मा वार्मअप म्याच खेल्नेछ। त्यसपछि जुन ४ मा टि ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ।(स्रोतः हाम्रो खेलकुद)

 

Share Now