Prakash Adhikari May 21, 2024
काठमाडौँ, ८ जेठः सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा यही जेठ ११ गते छलफल हुने तय भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न र प्रधानमन्त्रीबाट जवाफ दिनका लागि यही जेठ ११ गतेको दिन तोकेको जानकारी गराउनुभयो ।
दलीय प्रतिनिधिका आधारमा नीति तथा कार्यक्रमाथि छलफल हुने जनाउँदै उहाँले त्यसका लागि सम्बन्धित दलका पदाधिकारीले वक्ता सांसदको नाम बैठक प्रारम्भ हुनुअगावै कार्यव्यवस्था शाखामामा उपलब्ध गराउन आग्रह गर्नुभयो ।
नीति तथा कार्यक्रममाथि संशोधन पेस गर्न चाहने सांसदले सोको सूचना यही जेठ ९ गते बिहान ११ देखि अपराह्न २ बजेसम्म कार्यव्यवस्था शाखामा उपलब्ध गराउनुपर्नेछ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
संसद्मा कांग्रेसको अवरोध कायमै
 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म संसद्का कामकारबाही अघि बढ्न नसक्ने जनाउँदै संसद् बैठक अवरोध गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमा कांग्रेसका सांसद बद्री पाण्डेले सहकारी ठगीको छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टिओआर)मा सहमति भएर समिति नबनेसम्म संसद् चल्न नसक्ने बताउनुभयो । “कांग्रेस आफ्नो अडानमा कायम छ । बचतकर्ताको रकम फिर्ता नभएसम्म यो अडान कायम रहन्छ”, उहाँले भन्नुभयो ।
       सांसद पाण्डेले सहकारी ठगीसम्बन्धमा सञ्चारमाध्यममा थप नयाँ विषय सार्वजनिक भइरहेका उल्लेख गर्दै गोरखा मिडियाको प्रबन्ध निर्देशक रहेका बेला वर्तमान गृहमन्त्री रवि लामिछानेलगायत अन्य व्यक्तिले विभिन्न सहकारीबाट ठूलो रकम ऋण लिएका र विभिन्न तहबाट त्यसबारेमा छानबिन भइरहेको बताउनुभयो ।
Share Now