Prakash Adhikari May 24, 2024

काठमाडौं, ११ जेठ । आज पनि प्रतिनिधि सभाको बैठक बस्ने कार्यसूची संसद सचिवालयले तय गरेको छ।

बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ । बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव पेश गर्ने कार्यसूची छ।

त्यसैगरी सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल गर्ने कार्यसूची पनि छ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन्। सभामुखले प्राप्त संशोधनहरू र सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

तर, नेपाली कांग्रेसले आजको संसद बैठकमा पनि अवरोध गर्ने तयारी गरेको छ।

कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिनुभएकोले संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै त्यस्तो समिति नबनेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने अडान लिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर पछिल्लो राजनीतिक अवस्थाको बारेमा जानकारी गराउनु भएकोले कांग्रेसले संसद अवरुद्ध गरेमा बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउन सरकार लागेको हो कि भन्ने आशंका पनि गरिएको छ ।

 

Share Now