Prakash Adhikari May 25, 2024

ह्युसटन(टेक्सास अमेरिका), १२ जेठ । आईसीसी टी २० विश्वकपको तयारीका लागि अमेरिकाको ह्युस्टन पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानीय टिमसंगको पहिलो अभ्यास खेलमा जित दर्ता गरेको छ ।

टेक्सास राज्यको ह्युस्टनस्थित प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार ह्युस्टन हरिकेन्स विरुद्ध भएको खेलमा नेपाल ६ रनले विजयी भएको हो ।

खेलमा टस हारेर पहिले ब्याटिड. गरेको नेपालले दिएको १ सय ४७ रनको लक्ष्य घरेलु टोलीले हासिल गर्न सकेन । उसले निर्धारित २० ओभरको खेलमा १ सय ४० रन मात्र बनाउन सक्यो ।

ह्युस्टनका लागि लाहिरु मिलान्थाले सर्वाधिक ३३ रन बनाए भने अलि शेखले २३, स्मित पटेलले १९ तथा आकर्षित गोमेलले १८ रन ।

घरेलु टोलीलाई रोक्ने क्रममा नेपालका लागि सोमपाल कामीले ४ ओभरमा २ विकेट लिए । यस्तै करन केसीले ३ ओभरमा २ विकेट नै लिए । रोहित पौडेल, अविनाश बोहोरा, सागर ढकाल र कुशल भुर्तेलले १ । १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन जोडेको थियो । नेपालका लागि अनिल साहले ४७ रन, कप्तान रोहित पौडेलले २३ रन, सन्दिप जोराले २१ रन, गुलशन झाले २० रन, कुशल मल्लले १२ र करन केसीले १० रन जोडेका थिए ।

नेपाललाई रोक्ने क्रममा ह्युस्टनका उसमान शिनवारी र इमरान खान जूनियरले २ । २ तथा जोश ट्रोम्प, अलि शेख र जिया शेहजादले १ । १ विकेट लिए ।

खेलमा विजयी भएपनि विश्वकपका लागि तयारीमा निम्ति खेलपश्चात सुपर ओभर समेत खेलाईएको थियो । सो सुपर ओभरमा पनि नेपाल नै विजयी भएको थियो ।

ह्युस्टनमा आज पनि दोस्रो अभ्यास खेल हुनेछ । त्यसपछि नेपाली टोली ड्यालास जानेछ ।

ड्यालासमा क्यानाडाको विश्वकप टोलीसंग मे २७ र अमेरिकासँग मे ३० मा वार्मअप म्याच खेल्नेछ।

त्यसपछि सोही स्थानमा नेपालले जुन ४ मा टि ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससंग भिड्ने छ ।

नेपालले टी २० विश्वकपमा आफूले लिग चरणका दुई खेल खेल्ने स्थान सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा विन्डवार्ड भोल्क्यानोज विरुद्ध तीनवटा अभ्यास खेल खेलेर ह्युस्टन प्रस्थान गरेको थियो ।

ं तीन खेलको शृंखलामा नेपालले दुई खेल जितेको थियो ।

Share Now