Prakash Adhikari May 26, 2024
काठमाडौँ, १३ जेठ स् राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नु भएको प्रस्ताव बैठकले बहुमतले पारित गरेको हो । बैठकमा प्रधानमन्त्री दाहालले “राष्ट्रपतिले २०८१ जेठ १ गते मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आव २०८१÷०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।
गतिरोध अन्त्यका लागि सहमति हुने प्रमको विश्वास
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गत्यावरोध अन्त्यका लागि  बैठक सुचारु गर्ने सम्बन्धमा आज नभए भोलिसम्म सहमति र समझदारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आव २०८१÷०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सो कुरा बताउनुभएको छ । प्रधानमन्त्री दाहालले भन्नुभयो, “मैले बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर उहाँसँग भेट गरी सहमतिको प्रयास गरेको छु । आज नभए भोलिसम्म बजेट संसद्बाटै ल्याउने गरी सहमति र समझदारी बन्ने विश्वास छ ।”
कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै संसदीय छानबिन समिति गठनको मागका गर्दै आएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक जेठ १५ गते दिउँसो ४ बजे बस्नेछ ।
विकास प्रयास अब सही बाटोमाः एमाले उपाध्यक्ष पौडेल
नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपाल सरकारको नीति तथा कार्यक्रमले अल्मलिएको विकास प्रयासलाई सही बाटोमा ल्याएको बताउनुभएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै पूर्व अर्थमन्त्री पौडेलले जनतामा रहेको निराशालाई चिरेर मुलुकलाई हामी आआफैप्ले बनाउन सक्छौँ भन्ने आशाको सञ्चार उत्पन्न भएको बताउनुभएको हो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीबीच जारी बैठकमा नेता पौडेलले नीति तथा कार्यक्रमले दिगो विकासको लक्ष्यलाई पछ्याउने कोशिस गरेको उल्लेख गर्दै गठनन्धनको सहमतिमा निर्मित नेपाल सरकारको नीतिगत प्राथमिकता र साझा सङ्कल्पलाई प्रतिविम्बन गरिएकाले समर्थन योग्य भएको जनाउनुभयो । “यो नीति तथा कार्यक्रमले मुलुकको भौतिक र मानवीय विकासको गतिलाई  अगाडि बढाउने सङ्कल्प गरेको छ । मुर्छित, शिथिल र घस्रिएको अवस्थाको अर्थतन्त्रलाई चलायमान बनाएको छ”, उहाँले भन्नुभयो, “यसले राष्ट्रिय स्वाभिमानको रक्षालाई उच्च महत्व दिएको छ भने उत्पादन र रोजगारी वृद्धिका लागि साझेदारी कार्यक्रम ल्याइएको छ । यी विषय सबै दृष्टिकोणले स्वागत योग्य छन् ।”
सहकारी अनियमितताका सन्बन्धमा प्रतिपक्षले संसदीय छानबिन समिति गठनको माग गर्दै सदनका बैठक अवरोध गर्दै आएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १ गते सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधनमार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । संवैधानिक व्यवस्थाबमोजिम हरेक जेठ १५ गते बजेट प्रस्तुत हुने भएकाले सोअघि नीति तथा कार्यक्रम पारित हुनुपर्ने स्थिति छ ।
नीति तथा कार्यक्रम  अर्थतन्त्रको सुधार र रोजगारीमा केन्द्रित
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले सरकारले ल्याएको नीति तथा कार्यक्रमले संविधान कार्यान्वयन, अर्थतन्त्रको सुधार, पुर्नउत्थान, रोजगारी सिर्जनालाई जोड दिएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले नीति तथा कार्यक्रमले देशको वर्तमान अवस्थालाई बदल्दै राष्ट्र, राष्ट्रियता, समृद्धि, सुशासनको मार्गमा अगाडि बढ्नुपर्ने आवश्यकता आँैल्याएको बताउनुभयो ।  भ्रष्टाचार नियन्त्रण तथा सुशासनलाई संस्थागत गर्दै विकास निर्माणलाई गति दिनेतर्फ सरकारको नीति तथा कार्यक्रम लक्षित रहेको उहाँको भनाइ छ ।
देशको समृद्धि र विकासका लागि राष्ट्रिय सहमति एकमात्र विकल्प देखापरेको भन्दै उहाँले राष्ट्रका सामु उत्पपन्न चुनौती सहमति र एकताबाट मात्र सम्भव भएको बताउनुभयो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र कार्यान्वयनको अवस्था गम्भीर बन्दै गएकाले सबैले गम्भीरतापूर्वक सोचौँ, राजनीतिक दलहरुप्रति जनताका प्रश्न, आक्रोशलाई बेलैमा मनन गरौँ । सरकारले ल्याएको नीति तथा कार्यक्रमले विशेष गरी संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार, उत्पादन र उत्पादकत्वलाई जोड दिएको छ”उहाँले भन्नुभयो ।
संसद्को अवरोध अन्त्य हुननसक्दा संसदीय कार्यभार पूरा गर्न कठिन भइरहेको बताउँदै यसबाट राष्ट्रमा थप सङ्कट र जनतामा असन्तोष बढ्दै जाने भएकाले संसद्को अतिरोध अत्त्य गर्न दलका नेता र सांसदहरुले आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गर्न आग्रह गर्नुभयो ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले सरकारको नीति तथा कार्यक्रममा पूर्णसमर्थन रहेको जनाउनुभएको छ । संसद्मा आज उहाँले भन्नुभयो,“नीति तथा कार्यक्रमअनुसार बजेट बन्नेछ भन्ने विश्वास छ । संसदीय समितिको कार्यदेशमा सहमति भइरहेको छ । छलफलमा एक दुईवटा शब्दले अड्किएको छ । संसद्मा भइरहेको विरोध लज्जास्पद, औचित्यहीन हो ।” उहाँले आर्थिक शिथिलता चिर्दै दिगो रोजगार वृद्धिको जग बसाल्ने, राजस्व बढाउने, खर्चको बेमेल मिलाउने, सामाजिक रूपान्तरणको जग अगाडि बढाउनेलगायत विषयमा केन्द्रित रहेर बजेट आउनुपर्ने बताउनुभयो ।
Share Now