Prakash Adhikari May 28, 2024

ड्याल्लास(टेक्सास, संयुक्त राज्य अमेरिका), १५ जेठ । आइसीसी टी २० विश्वकपको वार्म अप खेल अन्तर्गत भएको क्यानाडासँगको खेलमा नेपाली विश्वकप क्रिकेट टोली पराजित हुन पुगेको छ ।

ड्यालसस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ६३ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

क्यानाडाले दिएको १ सय ८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अल आउट हुँदै १ सय २० रनमा समेटिन पुग्यो ।

नेपालको ब्याटिङमा कुशल मल्लले सर्वाधिक ३७ रन जोडे । खेलमा अनिल साहले २४, आशिफ शेखले २२, कुशल भुर्तेलले १० रन जोडे । सन्दीप जोराले ६ रन बनाए भने करन के.सी र सागर ढकालले ५ रन जोडे । सोमपाल कामीले ४ रन मात्र थपे । क्याप्टेन रोहित पौडेल १ रनमा आउट भए भने गुलशन झा खाता नखोली मैदान छोड्न विवस भए । अबिनास बोहोराले पनि कुनै रन जोड्न सकेनन् ।

नेपाललाई रोक्ने क्रममा क्यानाडाका डिलन हेलिगर एक्लैले ४ विकेट लिए । जेरेमी गोर्डन र साद विन जफरले २ । २ विकेट लिए । त्यस्तै कलिम सना र प्रगत सिंहले पनि १ । १ विकेट झारे ।

यस पहिले ड्याल्लासस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर ब्याटिड. गरेको क्यानडाले नेपाललाई १ सय ८४ रनको लक्ष्य दिएको थियो । उसले २० ओभरको निर्धारित खेलमा ७ विकेटको क्षतिमा १ सय ८३ रन जोडेको थियो ।

क्यानडाका लागि निकोलास किर्तनले ५२, रविन्दर सिंहले ४१,नवनित धारिवालले ३२, डिल्लन हेलिड.गर र प्रगत सिंहले १३। १३, आरोन जोन्सनले १० , दिलप्रित बज्वाले ३, क्याप्टेन सादविन जाफर र श्रेयास मुभले २ । २रनको योगदान दिएका थिए ।

क्यानडालाई रोक्ने क्रममा नेपालका अविनास बोहोराले २ तथा करन के.सी.,ललित राजवंशी, सोमपाल कामी,गुल्शन झा,सागर ढकालले एक एक विकेट लिए ।

नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाईले क्यानडासंगको प्लेइड. ११ मा रोहित पौडेल,आशिफ शेख,कुशल भूर्तेल, अनिल साह,कुशल मल्ल,करन के।सी,गुलशन झा,सोमपाल कामी,सन्दीप जोरा,अबिनास बोहोरा र सागर ढकाललाई चयन गरेका थिए । वेष्ट इण्डिजको खेलमा चोटिल हुन पुगेका दीपेन्द्रसिंह ऐरीलाई क्यानडासंगको खेलमा मैदान उतारिएको थिएन् ।

क्यानडासंगको वार्मअप खेलमा  नेपालको ब्याटिड. राम्रो चलेन भने बलिड. पनि ढिलो चल्यो । बलिड. ढिलो चल्दा अर्थात अन्त्यतिरका ओभरमा विकेट झर्दा प्रतिस्पर्धीले धेरै रन जोड्ने मौका पाउछ । सोमबारको वार्मअप खेलमा पनि त्यही भयो ।

पहिलो वार्मअप खेलको नतिजाले नेपालको बलिड.मा पनि ब्यापक सुधारको खाँचो देखाएको छ । र विश्वकप क्वालिफायरमा पुर्याउने विश्वचर्चित नेपाली खेलाडी सन्दीप लामिछानेको सख्त अभाव खड्किएको छ । नेपाल सरकारले नेपालको कानून र न्यायप्रणालीले निर्दोष सावित गरिसकेको खेलाडीलाई विश्वकप जस्तो देशका प्रतिष्ठासंग जोडिएको खेलमा पठाउन सक्छ कि सक्दैन ? प्रधानमन्त्री र मन्त्रीहरुले भिसा दिलाउन पहल गर्छन कि गर्दैनन् ? नेपालको खेल जगत र विश्व क्रिकेटप्रेमीहरुले यसलाई नजिकबाट नियाली रहेका छन् ।

अब नेपालले दोस्रो वार्म अप खेल अमेरिकासँग मे ३० मा खेल्नेछ । सो खेलमा नेपालको प्रदर्शनमा कति सुधार हुन्छ र विश्वकप खेलमा नेपाली खेलाडी कस्तो मनोबलका साथ मैदानमा उत्रिन्छन्, त्यसले विश्वकपमा नेपालको यात्रा र गन्तव्य निर्धारण गर्ने छ ।

जुन १ बाट सुरु हुने विश्व कपमा नेपालले पहिलो खेल जुन ५ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्नेछ । यसपटकको विश्व कप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

Share Now